काठमाडौ। रोनक उप्रेती र स्वस्तिका चौधरीले नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप २०२६ को उपाधि जितेका छन्।
नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएन (एनसीएसए)को आयोजनमा शनिवार सम्पन्न भएको प्रतियोगितामा रोनक पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने। च्याम्पियन दुवैले नगद ३० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरे।
यसैगरी पुरुषतर्फ पेम्बा छेवाङ तामाङ दोस्रो र सुलभ राई तेस्रो भए। महिलातर्फ मनिषा बुढा मगर दोस्रो र रबिका महर्जन तेस्रो भए। दोस्रो भएका दुवै खेलाडीले समान २० हजार र तेस्रो भएका दुवै खेलाडीले समान १० हजार नगद प्राप्त गरे।
यस्तै महिला र पुरुष दुवैमा शीर्ष तीन हात पार्ने खेलाडीले गेयर पार्टनर पेलियट नेपालले करिब एक लाख बराबरको खेल सामाग्री प्रदान गरेको छ। काठमाडौं स्पोर्ट्स क्लाइम्बिङ सेन्टरमा भएको एकदिने प्रतियोगितामा पुरुषतर्फ ३५ र महिलातर्फ ७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव राम चरित्र महेताले प्रतियोगिताको उद्घाटन गरेका थिए।
पुरुषतर्फ क्वालिफिकेसन राउण्डबाट अन्तिम चरणमा ८ खेलाडी छनोट भएका थिए। अन्तिम चरणमा छनोट भएका ८ खेलाडीको प्रतिस्पर्धाबाट विजेताको टुङ्गो लागेको हो।
गत वर्ष एनसीएसले ६ वर्षको ब्रेकपछि नेशनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यसलाई यस वर्ष निरन्तरा दिँदै बोल्डरिङ विधाको नेशनल च्याम्पियनसिप आयोजना गरेको हो।
एनसीएसएका अध्यक्ष रमेश पौडेलले आगामी दिनमा वार्षिक कार्यक्रमको क्यालेन्डर नै बनाएर हरेक वर्ष राष्ट्रिय प्रतियोगिता गर्ने जानकारी दिए। नेपालमा क्लाइम्बिङ स्पोर्टको ठूलो सम्भावना रहेको र नेसनल च्याम्पियनसिपमा यस वर्ष खेलाडीको संख्या पनि बढेको र आगामी दिनमा नयाँ खेलाडीहरुका लागि राष्ट्रिय च्याम्पियनसिप खेल्नका लागि समेत अवसर हुने उनले बताए।
प्रतियोगिताको विजेता खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटीका सहमहासचिव रामजी बहादुर श्रेष्ठ, एनसीएसएका अध्यक्ष रमेश पौडेलल लगायतले मेडल, पुरस्कार, प्रमाणपत्र प्रदान गरेका थिए। प्रतियोगितालाई पेलिएट नेपाल, एलाइट एक्सपेड, एट के एक्सपेडिसन्स, अल्टीप्रो एडभेन्चर, सातोरी एडभेन्चर, सेभेन समिट ट्रेक्स, १४ पिक्स एक्सपेडिसन, बिल, पाओनिर एडभेन्चरले र ब्ल्याक डायमन्डले सहयोग गरेको थियो।
नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न छनोट हुने महिला र पुरुक्ष १-१ खेलाडीलाई ब्ल्याक डायमन्टले गेयर स्पोन्सर गर्ने घोषणा समेत गरेको हो। यस्तै टेक्निल पार्टनरमा नेपाल नेशनल माउन्टेन गाइड एसोसिएन रहेको थियो भने इन्डियन माउन्टेनिरिङ फाउण्डेसनले टेक्निकल सहयोग गरेको थियो।