एशियाली खेलकूदमा पौडी खेलाडी छनोट विवाद, पूर्वसूचना अनुसार छनोट गर्न श्रेष्ठको माग

काठमाडौं। पौडीको एशियाली खेलकूदको छनोटमा धाँधली भएको भन्दै नेपालका नम्बर एक पौडीवाज इर्भिन श्रेष्ठसहित तीनजना राष्ट्रिय खेलाडीहरुले नियमानुसार निर्णायक छनोट गराउन माग गरेका छन्।

उनीहरुले पूर्व सूचना अनुसारको प्रिक्वालिफिकेशनलाई रातारात क्वालिफिकेशनमा परिणत गर्ने कार्य गैरकानूनी र खेल नियम विपरित भन्दै तत्काल सच्याउन माग समेत गरे। मङ्गलबार राजधानीमा पत्रकार सम्मेलनमा पौडीवाज इर्भिन श्रेष्ठले प्रिक्वालिफिकेशन भनिएको खेललाई आधाभन्दा बढी खेल समाप्त भइसकेपछि विना छाप र हस्ताक्षरको सूचना प्रकाशित गरी क्वालिफिकेशनमा बदल्नुमा ठूलो षड्यन्त्र भएको बताए। उनले प्रिक्वालिफिकेशनको हिट्समा पनि आधुनिक प्रविधिको प्रयोग गरी समय नलिई हाते घडीको प्रयोग गरिएकोबारे छानबिनको माग गरे। उनले भने, ‘‘खेल नियम अनुसार खेलाउने दायित्व पौडी संघले पूरा गरोस्।’’

नेपाल पौडी संघले २०८३ साल जेठ २३ र २४ गते तेस्रो नेपाल एक्वाटिक च्याम्पियनशिपको आयोजनालाई प्रिक्वालिफिकेशन भनी सूचना प्रकाशित गरेकोमा खेलाडी छनोट ढिलो भएको बहानामा चलखेल गरिएको प्रमाणसहित सर्वोच्च अदालत पुगेको समेत बताए। उनले भने, हामीलाई आशा छ कि सम्मानित सर्वोच्च अदालतले न्याय दिनेछ।

श्रेष्ठले खेलाडीको मनोबल गिराउने, धाँधली गरी खेलाडी विदेशमा खेल्न पठाउने जस्ता अनियमित गतिविधिका विरुद्ध पनि आफूहरुले बोलेको र अदालतमा न्यायका लागि पुगेको स्पष्ट पारे । उनले भने, ‘‘भविष्यमा कुनैपनि खेलाडीले अन्याय भोग्न नपरोस्।’’ आफूले खेलमा धाँधली भई विचलित भएका खेलाडी विदेशिने र खेल्न छाड्ने घटना सुनेको भन्दै भविष्यमा त्यस्तो हुन नदिन सबैले न्यायका लागि आवाज उठाउनुपर्ने बताए। पौडीमा डोपिङ टेष्ट गर्नुपर्ने नियम समेत पालना नभएको बताए । खेल चलिरहँदा प्रिक्वालिफिकेशनलाई क्वालिफिकेशनमा बदलेर मनोबल गिराउन खोजिएको उनको भनाई थियो । घरी घरी खेलको स्पर्धा नै तलमाथि गर्ने देखि खेलको पूर्वतालिका ढिला गरी सार्वजनिक गर्नु लापरवाही भएको बताए।

नेपाल एक्वाटिक च्याम्पियनशिपको पहिलो दिनको हिट्समा टच बोर्ड नराखिएको र घडीबाट समय लिइएकोमा गम्भीर प्रश्न गरे। अन्तर्राष्ट्रिय खेलमा खेलाडी पठाउन आधुनिक प्रविधि र नियमको पालना नगर्नुले प्रश्न उठाएको उनको भनाई थियो। असारको तेस्रो साता पौडी खेलाडीको अन्तिम छनोट अर्थात् क्वालिफिकेशन गर्ने भनी महिना दिनअघि सूचना टाँसिएको तर ढिलो भयो भनी प्रिक्वालिफिकेशनलाई नै क्वालिफिकेशनमा बदल्नुको औचित्य पुष्टि गर्न चुनौती दिए। उनले भने, ‘‘२०औं एशियाली खेलकूद आयोजक जापानले असारको १७ गतेसम्म खेलाडीको नाम पठाउने समय दिएको छ, ढिलो भइसकेको छैन।’’ उनले पौडी संघलाई आफ्नो गल्ती कमजोरी सच्याउने अवसर भएको बताउँदै समयमै अन्तिम छनोट प्रतिष्पर्धा गर्न आग्रह गरे।

पौडीकी राष्ट्रिय खेलाडी मेधावी केसीले अन्याय गर्नेभन्दा सहने झन् ठूलो पाप भएको बताउँदै आफूहरु न्यायका लागि वैधानिक तरिकाले अगाडि बढेको बताए । भविष्यमा कुनैपनि खेलाडीले खेल क्षमताका आधारमा खेल्नबाट वञ्चित नहोउन् भनेर आवाज उठाएको बताइन्। खेलकूद क्षेत्रको बेथिती र विसंगतिले धेरै खेलाडी विदेश पलायन भइरहेको औल्याउँदै अब त्यस्तो गतिविधिमा पूर्णविराम लाग्नुपर्ने बताइन्। उनले भनिन्, ‘‘जो छनोट भएपनि हाम्रो साथीहरु हुने हो तर पूर्व सूचना र नियमसंगत तरिकाले छानिनुपर्छ।’’ पौडी संघको घटनाले देशको प्रतिष्ठामै आँच पुग्ने खतरा बढेको बताइन्।

पौडी प्रशिक्षक मेघ लामाले खेल तालिकाहरु अदलबदल भइरहने, सूचनाहरु ढिलो गरी सार्वजनिक गर्ने हुँदा खेलाडीको तयारीमा असर पर्ने बताए। उनले खेलको तालिका बमोजिम खेल आयोजना हुनसकेमात्र नतिजा राम्रो आउने स्पष्ट पारे। प्रशिक्षक लामाले भने, ‘‘घरी घरी सूचना बदल्ने, खेलाडीको छनोटको मापदण्ड नै बदल्ने हुँदा खेलाडीमाथि अन्याय भइरहेको छ।’’

इर्भिन श्रेष्ठका अभिभावक महेश्वर श्रेष्ठले खेलाडीहरुले धेरै मिहेनत गरेर राखेको उद्देश्य पूरा गर्ने क्रममा अनावश्यक अवरोध आउनुलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। आफूहरुले खेलको नियम र प्रक्रिया अनुसार खेलाउन भनेको स्पष्ट पारे। खेलको नियम र भावना विपरित खेलाएर छनोट गर्नुले खेल सम्वद्ध संस्थाको विश्वसनीयतामा आँच पुगेको बताए। उनले नियमपूर्वक खेलाएर त्रुटी सच्याउन माग गरे।

घटना विवरण
नेपाल पौडी संघले २०८३ साल जेठ २३ र २४ गते तेस्रो नेपाल एक्वाटिक च्याम्पियनशिपको आयोजना गर्ने सूचना वैशाख १० गते जारी गरेको थियो। उक्त प्रतियोगितालाई जापानमा हुने एशियाली खेलकूदको प्रि–क्वालिफिकेशन रहेको सूचना पनि थियो। अंगेजी र नेपाली दुवैमा सूचना जारी गरी उक्त प्रतियोगिताबाट महिला र पुरुषतर्फ ८—८ जना खेलाडी एशियाली खेलकूदको अन्तिम छनोटको चरणमा पुग्न छानिने र असारको तेस्रो साता फाइनल प्रतिष्पर्धा गराई पौडीतर्फ एशियाली खेलकूदका लागि छनोट गरिने स्पष्ट लिखित रुपमै जनाइयो।

७ जेठमा सूचना परिवर्तन गरी खेलका स्पर्धाहरु तलमाथि गरिएको थियो। यसमा पनि छनोटको मापदण्ड उही उल्लेख थियो। संघले गरेको सूचनाकै आधारमा हामी खेलाडीहरुले तयारी गरेका थियौं। पहिलो दिनको प्रतियोगिता जेठ २३ मा सकियो। तर, जेठको २४ गते विहान विना हस्ताक्षर र छापको सूचना टाँसेर र समाजिक सञ्जालमा राखेर तेस्रो नेपाल एक्वाटिक च्याम्पियनशिप नै एशियाली खेलकूदको अन्तिम छनोटमा परिणत गरिएको उल्लेख गरिएको विहानको खेलपछि मात्र जानकारी पायौं। आधा भन्दा बढी खेल सकिएपछि मापदण्ड नै बदल्ने चालबाजी भयो। खेलाडीहरु खेलिरहेका थिए प्रिक्वालिफिकेशन क्वालिफिकेशनमा बदलियो।

राष्ट्रिय खेलकूद परिषद्ले २२ जेठ शुक्रबार राति पत्र लेखेर पाँच दिनभित्र एशियाली खेलकूदका लागि छनोट गरी खेलाडी पठाउनु भनेको बहानामा छनोटको मापदण्ड रातारात बदलियो। जबकी खेलाडीको नाम आयोजक एशियाली खेलकूद कमिटीमा पठाउने समय एक महिना बाँकी नै थियो। आफैले बनाएको नियम र मापदण्ड नेपाल पौडी संघ आफैले उल्लंघन ग¥यो। खेलाडीले सबै अनुशासन पालना गर्नुपर्ने तर खेलकूद संघले गर्नुनपर्ने ? यो कस्को स्वार्थका लागि गरियो ? जबकि असारको अन्तिम साताभित्र एशियाली खेलकूदमा सहभागीको नाम पठाउन सकिने आयोजक जापानको एशियाली खेलकूद आयोजक कमिटीले वेवसाइटमै उल्लेख गरेको छ। यो घटनाले छनोटमा सहभागी खेलाडीहरु विचलित भएका छन्। राष्ट्रका लागि खेल्ने खेलाडीहरुलाई विचलित बनाउने कुत्सित मनशाय नेपाल पौडी संघ र राष्ट्रिय खेलकूद परिषद् दुवैमा देखियो। यो घटनाको निष्पक्ष छानबिनको माग गरिएको छ।

खेलाडीहरु रातारात खेलको नियम बदलेर धाँधली गरिएको कदमका विरुद्ध सम्मानित सर्वोच्च अदालतमा पुगेका छन्। अदालतले बुधबार असार ३ गतेका छलफलका लागि बोलाएको छ। पौडी संघ, राष्ट्रिय खेलकूद परिषद र नेपाल ओलम्पिक कमिटीलाई लिखित जवाफ पठाउन भनेको छ। यो घटनाले समग्र खेलक्षेत्रमा तरंग आएको छ। वर्तमान र भविष्यसम्म कुनैपनि खेल संस्थाले खेलाडीमाथि आग्रह पूर्वाग्रहमा धाँधलीपूर्ण निर्णय गर्न नसकोस् भन्ने चर्चा चलिरहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको