काठमाडाैं। दक्षिण कोरियालाई १–० ले हराउँदै मेक्सिकोले बिहीबार फिफा विश्वकपकाे नकआउट चरणमा पुगेकाे छ। मेक्सिकोनकआउट चरणमा स्थान सुरक्षित गर्ने पहिलो टोली बनेको छ।
सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको मेक्सिकोका लागि यो महत्त्वपूर्ण सफलता हो। घरेलु मैदानमा उत्साहित समर्थकहरूको सामुन्ने लगातार दोस्रो जित हासिल गर्दै टोलीले आफ्नो उत्कृष्ट लय कायम राखेको छ।
मेक्सिकोका लागि निर्णायक गोल लुइस रोमोले ५०औं मिनेटमा गरे। दक्षिण कोरियाका गोलकिपर किम सुङ–ग्यु आफ्नै डिफेन्डर ली गि–ह्युकसँग ठोक्किएपछि बल नियन्त्रण गर्न असफल भए। बल पेनाल्टी क्षेत्रभित्र खस्यो। रोमोले उक्त अवसरलाई सदुपयोग गर्दै सहज रूपमा खाली पोस्टमा गोल गरेका थिए।
दक्षिण कोरियाले खेलको ८७औं मिनेटमा बराबरी गोल गर्ने सुनौलो अवसर पाएको थियो। तर‚ मेक्सिकन गोलकिपर राउल रान्गेलले चो गुए–सुङको नजिकबाट आएको हेडर रोके। त्यसपछि ‘रिबाउन्ड’मा आएको बललाई पनि उनले उत्कृष्ट बचाउ गर्दै आफ्नो दाहिने हात फैलाएर गोललाइन पार गर्न दिएनन्।
दुई खेलपछि समूह ‘ए’ मा मेक्सिकोको ६ अंक पुगेको छ। दक्षिण कोरियाको ३ अंक छ भने यसअघि बिहीबार एटलान्टामा १–१ को बराबरी खेलेका चेक रिपब्लिकाको र दक्षिण अफ्रिकाको समान १–१ अंक छ।
प्रत्येक समूहका शीर्ष दुई टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने आठ तेस्रो स्थानका टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिता ४८ टोलीमा विस्तार गरिएपछि यस विश्वकपमा पहिलो पटक अन्तिम ३२ टोलीको चरण खेलाइँदैछ।