काठमाडौं। फ्रान्सका स्टार खेलाडी किलियन एमबाप्पेले दुई गोल गर्दै आफ्नो करिअरको विश्वकप गोल संख्या १६ पुर्याएका छन्।
यससँगै उनी विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा बराबरीमा पुगेका छन्। सोमबार भएको खेलमा फ्रान्सले वर्षाका कारण अवरुद्ध भएको प्रतिस्पर्धा खेलमा इराकलाई ३–० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गर्यो।
बालोन डी’ओर विजेता उस्मान डेम्बेलेले पनि एक गोल थपे। फिलाडेल्फियामा भारी वर्षाका बाबजुद मैदानमा उपस्थित समर्थकले फ्रान्सको उत्कृष्ट प्रदर्शनको आनन्द उठाए।
विश्व फुटबलका उत्कृष्ट खेलाडीमध्ये एक मानिने एमबाप्पेका लागि यो खेल विशेष रह्यो। उनले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा दुई गोल गरे। उनले खेलको १४औं र ५४औं मिनेटमा गोल गर्दै टोलीलाई सहज जिततर्फ डोर्याए।
एमबाप्पेसँग ह्याट्रिक पूरा गर्ने अवसर पनि थियो। तर‚ खेलको अन्त्यतिरको ‘ब्रेकअवे’ अवसरमा उनले गोल गर्न सकेनन्। त्यसपछि ९०औं मिनेटमा उनलाई मैदानबाट बाहिर निकालियो।
उनको पहिलो गोलले फ्रान्सलाई पहिलो हाफसम्म १–० को अग्रता दिलाएको थियो। तर‚ पहिलो हाफपछि भारी वर्षा र चट्याङसहितको मौसमका कारण खेल दुई घण्टाभन्दा बढी रोकियो।
मैदानमा जमेको पानी हटाउन ग्राउन्ड स्टाफले विशेष प्रयास गर्नुपरेको थियो। खेल पुनः सुरु भएपछि फ्रान्सले थप दुई गोल गर्दै सानदार जित हासिल गर्यो।