काठमाडौं। लिओनल मेस्सीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै आफ्नो १८औं गोल गरेपछि साबिक विजेता अर्जेन्टिनाले सोमबार अस्ट्रियालाई २–० ले पराजित गरेको छ। योसँगै अर्जेन्टिनाले नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।
खेलको नवौं मिनेटमै मेस्सीसँग विश्वकपको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्ने सुनौलो अवसर थियो। अर्जेन्टिनाले पाएको पेनाल्टी प्रहार गर्न अघि बढेका उनले बललाई पोस्टको दायाँतर्फ बाहिर प्रहार गरेपछि अवसर खेर गएको थियो।
तर‚ करिब ३० मिनेटपछि मेस्सीले आफ्नो गल्ती सच्याए। थियागो अल्माडाले फाकुन्डो मेडिनाको पासलाई छोडिदिँदा बल सीधै मेसीको बायाँ खुट्टामा पुगेको थियो। अस्ट्रियाका गोलरक्षक अलेक्जान्डर श्लागर गलत दिशातर्फ सरेका बेला मेसीले अवसरको सदुपयोग गर्दै उत्कृष्ट गोल गरे।
इन्जुरी समयमा उनले अर्को गोल थप्दै विश्वकपमा आफ्नो गोल संख्या १८ पुर्याए। यससँगै उनले जर्मनीका पूर्वस्ट्राइकर मिरोस्लाभ क्लोजेलाई दुई गोलले पछि पार्दै विश्वकप इतिहासका सर्वाधिक गोलकर्ताको स्थान अझ मजबुत बनाए।