काठमाडाैं। तेस्रो संस्करणको राष्ट्रिय ई स्पोट्र्स प्रतियोगितामा फ्रि–फायरतर्फ त्रिनेत्र र पब्जी मोबाइलतर्फ द फोर एलिमेन्ट्स च्याम्पियन बनेका छन्।
ई स्पोट्र्स संघ नेपाल (ईशान) को आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसहित दुवै टोलीले समान ८० हजार नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिताको ई फुटबल विधातर्फ रजत बुढाथोकी च्याम्पियन बने। फाइनलमा बिकुल रानालाई पराजित गर्दै उनले उपाधि आफ्नो नाममा लेखाएका हुन्।
विजेता खेलाडी तथा टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, ईशानका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसी तथा बोर्ड सदस्यहरू मौषमी लामा र सिजन भट्टराईलगायतले ट्रफी, मेडल तथा पुरस्कार प्रदान गरेका थिए।
प्रतियोगिताका संयोजक प्रकाश घर्तीका अनुसार प्रतियोगिता जेठ १८ गतेदेखि सुरु भएको थियो भने फाइनल चरणका खेलहरू असार ८ देखि ११ गतेसम्म सञ्चालन भएका थिए।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद किवास परिषद्, बागमती प्रदेश, एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सलगायत विभिन्न संघ संस्थाहरूले सहयोग गरेका थिए।