सोमबारदेखि शहिद स्मृति राष्ट्रिय यु–२० पुरुष तथा महिला रग्बी प्रतियोगिता

काठमाडौं। शहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा शहिद स्मृति राष्ट्रिय यु–२० पुरुष तथा महिला रग्बी प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ।

बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा बागमती रग्बी संघको व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता असार १५ र १६ गते ललितपुरस्थित च्यासल रंगशालामा आयोजना हुनेछ।

प्रतियोगितामा पुरुषतर्फ ६ तथा महिलातर्फ ५ टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ भने प्रतियोगिता लिग–कम–नकआउट प्रणालीका आधारमा सञ्चालन गरिने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताको अनुमानित लागत २३ लाख रुपैयाँ रहेको छ। प्रतियोगितामा सहभागी प्रत्येक खेलाडीको १ लाख २५ हजार रुपैयाँ बराबरको खेल दुर्घटना बीमा पनि गरिएको छ।

पुरुष तथा महिला दुवै विधाका विजेता टोलीले समान ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेता टोलीले ३० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने टोलीलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट पुरुष र महिला खेलाडीलाई समान ३ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ। सहभागी प्रत्येक टोलीका लागि होटल आवास तथा एकतर्फी यातायात खर्चको व्यवस्था पनि आयोजकले गर्ने जनाएको छ।

यसै प्रतियोगितालाई आधार बनाएर भारतमा आयोजना हुने एसिया रग्बी यु–२० पुरुष तथा महिला प्रतियोगिताका लागि नेपाली टोलीको खेलाडी छनोट गरिनेछ।

प्रतियोगिताको उद्घाटन बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले गर्नेछिन् भने समापन समारोहमा एसिया रग्बीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव टंकलाल घिसिङ प्रमुख अतिथिका रूपमा सहभागी हुने नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले जानकारी दिए।

प्रतियोगिताको हस्पिटल पार्ट्नर साझेदारका रूपमा भक्तपुर इन्टरनेशनल हस्पिटल रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको