एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : वर्ष पुरुष र महिला खेलाडीको मनोनयन सार्वजनिक

काठमाडाैं। १९ असारमा कैलालीको धनगढीमा हुने ‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले वर्ष खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गरेको हो।

छनोट समितिका अनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका दुई खेलाडीसहित भारोत्तोलनका एक खेलाडी तथा महिलातर्फ दृष्टिविहीन क्रिकेट, कबड्डी र फुटबलका खेलाडी मनोनयनमा परेका छन्।

पुरुषतर्फ टी–२० राष्ट्रिय क्रिकेट टोलीका कप्तान दिपेन्द्रसिंह ऐरी, भारोत्तोलक अशोक भण्डारी र राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर हेमन्त धामी मनोनयनमा परेका छन्।

ऐरीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार पाँच खेलमा प्रत्यक्ष थ्रोबाट रनआउट गर्दै विश्व कीर्तिमान बनाएका थिए। उनले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईसंग त्रिकोणात्मक शृंखलामा नेपालका लागि सर्वाधिक १७५ रन बनाएका थिए। टी–२० विश्वकपमा स्कटल्याण्डविरुद्ध अविजित अर्धशतक प्रहार गर्दै नेपाललाई १२ वर्षपछि विश्वकपमा जित दिलाउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए। विश्वकपमै इङ्ग्ल्यान्डविरुद्ध ४४ तथा वेस्ट इन्डिजविरुद्ध ५८ रनको उत्कृष्ट इनिङ खेलेका उनी नेपालका टी–२० कप्तान बनेका छन्। नेपाल प्रिमियर लिगमा उनको कप्तानीमा सुदूरपश्चिम रोयल्स उपविजेता बनेको थियो।

भारोत्तोलक अशोक भण्डारीले काठमाडौँ र राजविराजमा सम्पन्न राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदकसँगै दुई वटा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। वीरगञ्जमा सम्पन्न अन्तरप्रदेश राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा पनि उनले स्वर्ण पदक जितेका थिए। एकै वर्ष तीन राष्ट्रिय प्रतियोगितामा ह्याट्रिक स्वर्णसहित दुई राष्ट्रिय कीर्तिमान कायम गर्दै उनी मनोनयनमा परेका हुन्।

क्रिकेटर हेमन्त धामीले प्रधानमन्त्री कपमा सुदूरपश्चिम प्रदेशका प्रमुख तीव्र गतिका बलरका रूपमा उत्कृष्ट प्रदर्शन गर्दै ८ खेलमा २२ विकेट लिएर सर्वाधिक विकेटकर्ता बनेका थिए। बागमतीविरुद्ध ६ ओभरमा १४ रन खर्चेर ७ विकेट लिँदै प्रधानमन्त्री कप इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शनको कीर्तिमान पनि उनले बनाएका थिए। नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सबाट खेल्दै ५ खेलमा ६ विकेट लिएका धामीले नेपालबाट टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै यूएईविरुद्धको शृंखलामा दुई विकेट समेत हात पारेका थिए।

महिलातर्फ दृष्टिविहीन क्रिकेटकी पुनम चौधरी, कबड्डीकी मानमती बिष्ट र फुटबलकी मिना देउवा मनोनयनमा परेका छन्। चौधरी पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेको नेपाली टोलीकी सदस्य हुन्। उनी भारतविरुद्धको शृंखलामा समेत नेपाली टोलीबाट सहभागी भएकी थिइन्। कबड्डी खेलाडी मानमती बिष्टले चीनमा सम्पन्न छैटौँ बीच एसियन गेम्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने टोलीको कप्तानी गरेकी थिइन्। बङ्गलादेशविरुद्धको पाँच खेलको शृंखला नेपालले ३–२ ले जित्दा दुई खेलमा उत्कृष्ट खेलाडी घोषित भएकी उनी प्रतियोगिताकी सर्वश्रेष्ठ खेलाडी समेत बनेकी थिइन्। दोस्रो कबड्डी विश्वकपमा नेपाली टोलीको नेतृत्व गर्दै नेपाललाई चौथो स्थानसम्म पुर्‍याउन पनि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।

फुटबल खेलाडी मिना देउवाले साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाललाई उपविजेता बनाउन उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा ७ गोल गरी संयुक्त सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएकी थिइन्। श्रीलंका र भुटानविरुद्ध दुई ह्याट्रिक गरेकी उनले राष्ट्रिय महिला टोलीबाट डेब्यु गर्दै इरानविरुद्ध अन्तर्राष्ट्रिय खेल पनि खेलेकी थिइन्। झापा महिला गोल्डकपको फाइनलमा निर्णायक गोल गरेकी मिना प्रतियोगितामा ७ गोलसहित सर्वाधिक गोलकर्ता तथा सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।

‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’का लागि यसअघि नै वर्ष प्रशिक्षक, वर्ष युवा खेलाडी, सुदूरपश्चिम आइकन पुरुष र महिलाको मनोनयन सार्वजनिक भइसकेको छ। छनोट समितिका सदस्य नवराज पनेरुका अनुसार वर्ष प्रशिक्षकको लागि क्रिकेटका धिरेन्द्र चन्द, कबड्डीका विष्णुदत्त भट्ट र भारोत्तोलनका जीवन गौतम मनोनयनमा परेका छन्। ‘वर्ष युवा खेलाडी’ विधामा एथलेटिक्सका विरेन्द्र नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी संगीता विक मनोनयनमा परेका छन्।

त्यस्तै, ‘सुदूरपश्चिम आइकन पुरुष’ विधामा क्रिकेटका नारायण जोशी, भारोत्तोलनका अशोक भण्डारी र सुटिङका सुनिल चन्द मनोनयनमा परेका छन्। ‘सुदूरपश्चिम आइकन महिला’ विधामा कबड्डीकी दिपा देउवा, एथलेटिक्सकी पूजा साउँद र तेक्वान्दोकी दिपा जैशी मनोनयनमा परेका छन्।

अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) छ भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा साथ दिन सम्झौता गरिसकेको छ। यस्तै, भायानेट इन्टरनेट पार्टनरको रुपमा अवार्डमा जोडिएको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको