काठमाडौं । ‘प्लस टु’ अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गर्दै बिहानी इभेन्ट्सले असार ३२ देखि साउन २ गतेसम्म ‘फुटसल मेनियाः नेसनल इन्टर हाई स्कुल फुटसल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ।
तारकेश्वर नगरपालिकास्थित टिपटप स्पोर्ट्स हबमा हुने प्रतियोगितामा देशभरका ४८ उच्च माध्यमिक विद्यालयका टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ। प्रतियोगितामा बढीमा २० वर्षका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् भने हालै कक्षा १२ उतीर्ण गरेका विद्यार्थीसमेत सहभागी हुन पाउने व्यवस्था गरिएको छ। त्यस्तै एउटा विद्यालयबाट दुईवटा टोलीसम्म सहभागी हुन पाउनेछन्।
आयोजक बिहानी इभेन्ट्सकी इभेन्ट्स डाइरेक्टर अस्मिता घिमिरेका अनुसार विश्वकपको माहोलबीच विद्यार्थीलाई खेलकुदसँग जोड्ने, खेलभावना, टिम स्पिरिट र नेतृत्व क्षमता विकास गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।
‘विश्वकपको रौनक चलिरहेका बेला प्लस टुका विद्यार्थीले पनि त्यसको उत्साह अनुभूत गर्दै प्रतिस्पर्धात्क वातावरणमा आफ्नो प्रतिभा प्रदर्शन गर्न सकून भन्ने हाम्रो उद्धेश्य हो,’ घिमिरेले भनिन्, ‘खेलमार्फत उनीहरुमा स्पोर्ट्सम्यानसिप, टिमवर्क र नेतृत्व क्षमताको विकास होस् भन्ने अपेक्षा गरेका छौं।’
सहभागी ४८ टोलीलाई १६ समूहमा विभाजन गरिनेछ। राउन्ड रोविन लिगपछि प्रत्येक समूहको विजेता टोलीले प्रि–क्वार्टरफाइनलमा स्थान बनाउनेछ । खेल प्रति–हाफ सात मिनेटको हुनेछ।
प्रतियोगिताको कूल पुरस्कार राशी ३ लाख ७५ हजार रुपैयाँ छ। विजेता टोलीले ट्रफी र मेडलसहित २ लाख रुपैयाँ, उपविजेताले १ लाख रुपैयाँ र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। विजेताले रनिङ शिल्ड पनि जित्नेछ। बिहानी इभेन्ट्सले यसलाई वार्षिक प्रतियोगिताका रुपमा निरन्तरता दिने योजना पनि सार्वजनिक गरेको छ।
प्रतियोगिताको टाइटल स्पोन्सरमा ‘युनिगो एजेकेशन एक्सपर्ट’ छ। प्रतियोगितामा टोली दर्ता ‘फस्ट कम, फस्ट सर्भ’ आधारमा गरिनेछ। प्रति टोलीको दर्ता शुल्क १५ हजार रुपैयाँ तोकिएको छ। दर्ताका लागि सहभागीले युनिगो एपमार्फत आवेदन दिन सक्नेछन्। प्रत्येक टोलीमा न्यूनतम पाँच र अधिकतम आठ खेलाडी राख्न पाइनेछ।
सन् २०१८ मा स्थापना भएको बिहानी इभेन्ट्सले नेपालमा विवाह समारोहदेखि राष्ट्रियस्तरका खेलकुद प्रतियोगितासम्म आयोजना गर्दै आएको छ। बिहानीका अनुसार यस ‘फुटसल मेनियाः नेसनल इन्टर हाई स्कुल फुटसल टुर्नामेन्ट’ले विद्यालयस्तरको फुटसललाई थप प्रतिस्पर्धात्मक बनाउने विश्वास लिइएको छ।