काठमाडाैं। गोन्कालो रामोसले इन्जुरी समयको निर्णायक गोल गरेपछि पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै विश्वकपको अन्तिम १६ मा स्थान बनाएको छ।
यो जितसँगै पोर्चुगलले अब सोमबार अन्तिम १६ मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। यता क्रोएसियाका कप्तान लुका मोड्रिचको पाँचौं विश्वकप यात्रा पनि समाप्त भएको छ।
मोड्रिचले आफ्नो टोलीलाई सन् २०१८ मा उपविजेता र २०२२ मा तेस्रो स्थानसम्म पुर्याएका थिए। तर‚ पाँचौं विश्वकपमा भने उनको टोली नकआउट चरणबाटै बाहिरिएको छ। योसँगै विश्वकपमा उनको गौरवपूर्ण यात्रा पनि टुंगिएको छ।
निर्धारित समयको अन्त्यतिर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो बेन्चमा रहँदा राफाएल लियाओको उत्कृष्ट क्रसलाई रामोसले हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई महत्त्वपूर्ण जित दिलाएका हुन्।
यसअघि खेलको ६८औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए। यो विश्वकपको नकआउट चरणमा रोनाल्डोको करिअरकै पहिलो गोल पनि बनेको छ।
क्रोएसियाले ५३औं मिनेटमा जोसिप स्टानिसिचको क्रसमा इभान पेरिसिचले गोल गर्दै अग्रता लिएको थियो। तर‚ त्यसपछि पोर्चुगलले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो।
खेलको अन्तिम क्षणमा क्रोएसियाले बराबरी गोल गरेको दाबी गरे पनि भिडियो सहायक रेफ्री (भीएआर) को समीक्षा पछि मारियो पासालिच अफसाइड रहेको निर्णय दिइयो र गोल मान्यता पाएन। त्यसपछि असन्तुष्ट क्रोएसियाली समर्थकले मैदानतर्फ बोतल प्रहार गर्दै विरोध जनाएका थिए।
आैं