काठमाडौं। साउदी प्रो लिग च्याम्पियन अल नासर स्पेनिस क्लब युडी अल्मेरियासँग प्रिसिजनको मैत्रीपूर्ण खेलमा २–० ले पराजित भएको छ।
पोर्चुगलमा सम्पन्न खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा अल्मेरियाले दुई गोल गर्दै जित आफ्नो पक्षमा पार्यो। खेलको ५१औँ मिनेटमा डाइजिरो चिरिनोले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए। त्यसपछि ६१औँ मिनेटमा एड्री एम्बार्बाले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
अल नासरले खेलमा केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन। दोस्रो हाफमा साडियो माने, जोआओ फेलिक्सलगायत खेलाडी मैदान प्रवेश गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। खेल २–० को नतिजासहित अल्मेरियाको पक्षमा समाप्त भएको थियो।
यस खेलको अर्को विशेष पक्ष भनेको अल्मेरियासँग पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको सम्बन्ध पनि हो। सन् २०२६ को फेब्रुअरीमा रोनाल्डोले आफ्नो कम्पनी सीआर ७ स्पोर्ट्स इन्भेस्टमेन्ट्स मार्फत युडी अल्मेरियाको २५ प्रतिशत स्वामित्व (सेयर) खरिद गरेका थिए। त्यसैले उनी अहिले अल नासरका कप्तान मात्र नभई अल्मेरियाका सह–मालिक पनि हुन्।