काठमाडौं। कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा इन्टर मियामीले लिग्स कप २०२६ को पहिलो खेलमा मेक्सिकोको एट्लेटिको सान लुइसलाई ४–२ ले पराजित गर्दै विजयी सुरुआत गरेको छ।
मियामीस्थित नु स्टेडियममा बिहीबार सम्पन्न खेलमा मियामीका लागि मेस्सीले दुई गोल गर्दा टेलास्को सेगोभियाले एक तथा मिकाएलले एक गोल थपे। सान लुइसका डेभिड रोड्रिगो र राफाले समान एक–एक गोल फर्काए।
मेस्सीले खेलको ११औँ र ४४औँ मिनेटमा गोल गरे। पहिलो हाफको अतिरिक्त समयको सातौँ मिनेटमा मिकाएलले गोल थपेपछि मियामीले पहिलो हाफमै ४–१ को सहज अग्रता बनाएको थियो। यसअघि टेलास्को सेगोभियाले पनि एक गोल गरेका थिए।
दोस्रो हाफमा सान लुइसले एक गोल फर्काए पनि खेलमा पुनरागमन गर्न सकेन। अन्ततः मियामीले ४–२ को जित निकाल्दै प्रतियोगितामा पहिलो खेलबाटै तीन अंक जोड्न सफल भयो।