काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले २० औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आफ्नो उत्कृष्ट दिने प्रयास गर्न बताएका छन्।
एसियाडमा सहभागी हुने खेलाडीको तयारीलगायत का विषयमा जानकारी लिन मन्त्री पोखरेलले खेलाडीलाई भेट गर्ने क्रममा सो कुरा बताएका हुन्। मन्त्री पोखरेलले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई शनिबार साँझ गौशालास्थित पशुपति बुटिकमा भेटका थिए। बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई पशुपति र सिनामंगलस्थित रोयल बुटिकमा राखिएको छ।
मन्त्री पोखरेलले खेलकुद र शिक्षा दुवै क्षेत्र भनेको आजै लगानी गरेर भोलि नै नतिजा आउने क्षेत्र नभएको बताउदै लङ टर्ममा लगानीको नतिजा अवश्य देखिने विश्वास व्यक्त गर्दै खेल क्षेत्र र खेलाडीको समस्या सामाधान गर्न प्रतिबद्ध रहेको बताए । उनले १० औं राष्ट्रिय खेलकुद यसै वर्ष सम्पन्न हुने बताए। टेनिस खेलाडी प्रदीप खड्काले राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्न पाउनु गर्वको विषय भएको बताउदै खेलाडीको भावना प्रत्यक्ष बुझ्न खेलकुद मन्त्री स्वयं उपस्थित भएकोमा धन्यवाद व्यक्त गरे।
एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेता एरिका गुरुङले मिसन– २०२६ को तयारीले खेलाडीलाई धेरै फाईदा पुगेको बताउँदै खेलाडीले उत्कृष्ट नतिजा दिन हर सम्भव प्रयास गर्ने बताइन्। भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले अब्बल प्रशिक्षक भए मात्र अब्बल खेलाडी उत्पादन गर्न सकिने बताउँदै प्रशिक्षकको दक्षता अभिबृद्धिमा पनि उत्तिनै ध्यान दिन जरुरी रहेको बताए।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठ, शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।