रोहितलाई धन्यवाद दिँदै क्यानले भन्यो– नेपाली क्रिकेटमा योगदान प्रेरणादायी

काठमाडौं। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान रोहित पौडेललाई उनकोको नेतृत्व यात्रालाई नेपाल क्रिकेटमा महत्वपूर्ण योगदानका रूपमा स्मरण गर्दै धन्यवाद ब्यक्त गरेको छ।

नेपाल क्रिकेट संघले आगामी एसीसी पुरुष प्रिमियर कपका लागि एकदिवसीय टोलीको कप्तानी सन्दीप लामिछानेलाई दिएसँगै रोहितको कप्तानी भूमिकामा परिवर्तन आएको हो।

रोहितले सन् २०२२ देखि नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्दै आएका थिए। उनको कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटका विभिन्न महत्वपूर्ण प्रतियोगितामा सहभागिता जनाएको थियो। उनी २०२४ र २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपमा समेत नेपाली टोलीका कप्तान थिए।

२०२६ को टी–२० विश्वकपमा रोहितकै नेतृत्वमा नेपालले इंग्ल्यान्डविरुद्ध चार रनको रोमाञ्चक हार बेहोरेको थियो भने स्कटल्यान्डलाई सात विकेटले पराजित गर्दै प्रतियोगितामा १२ वर्षपछि पहिलो जित दर्ता गरेको थियो।

कप्तानी भूमिकाबाट अलग भएपछि रोहितलाई धन्यवाद दिँदै उनको नेतृत्व, समर्पण र नेपाली क्रिकेटप्रतिको योगदानको प्रशंसा गरिएको छ। उनलाई ‘एकपटक नेता बनेपछि सधैं नेता’ भन्ने भावसहित आगामी दिनमा पनि नेपाली क्रिकेटका लागि निरन्तर योगदान दिने विश्वास व्यक्त गरिएको छ।

रोहित अब खेलाडीका रूपमा नेपाली क्रिकेटमा आफ्नो यात्रा अघि बढाउनेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको