काठमाडौं। साविक विजेता अल नासरले साउदी प्रो लिगको नयाँ सिजनको पहिलो खेल आज खेल्दैछ। उपाधि रक्षा अभियानको पहिलो खेलमा अल नासरले अल फतेहसँग प्रतिस्पर्धा गर्न लागेको हो।
रियादस्थित किङ साउद युनिभर्सिटी रंगशालामा हुने खेल नेपाली समयअनुसार आज राति आज राति ११स्४५ बजे सुरु हुनेछ।
नयाँ सिजनको पहिलो खेल भएकाले अल नासरका लागि यो खेल विशेष महत्त्वको हुनेछ। गत सिजन उत्कृष्ट प्रदर्शन गरेको अल नासरले ३४ खेलबाट २८ जित, २ बराबरी र ४ हारसहित ८६ अंक जोड्दै साउदी प्रो लिगको उपाधि जितेको थियो। अल नासरले सात वर्षपछि लिग उपाधि जितेको हो।
अल नासरको उपाधि यात्रामा कप्तान क्रिस्टियानो रोनाल्डोको भूमिका पनि महत्त्वपूर्ण थियो। उनले गत सिजन लिगमा २८ गोल गरेका थिए।
केही दिनअघि विवाह गरेका रोनाल्डो टोलीको प्रशिक्षणमा फर्किसकेका छन्। रोनाल्डो भने आजको खेलमा उपलब्ध हुने छैनन्। नयाँ सिजनको पहिलो खेल अल नासरले रोनाल्डोबिनै खेल्ने भएको छ।
गत सिजन अल नासरले रोनाल्डोको आगमनपछि पहिलोपटक साउदी प्रो लिगको उपाधि जितेको थियो।