काठमाडौं। इन्टरनेसनल जोसेफ स्कुलले काठमाडौंमा आयोजित जेसिआई यु–१६ गल्र्स टी वान रग्बी प्रतियोगिताको उपाधि जितेको छ।
बुढानीलकण्ठ नगरपालिकाको बालुवाखानीस्थित कपअन स्पोर्ट्स सेन्टरमा सोमबार भएको खेलमा इन्टरनेसनल जोसेफ स्कुलले ओडिसी इन्टरनेसनल एकेडेमीलाई २–० ले हराउँदै उपाधि जितेको हो।
एक दिने प्रतियोगितामा कुल १६ टोलीले प्रतिस्पर्धा गरेको आयोजक नेपाल विद्यालय रग्बी कमिसनका अध्यक्ष दीपक अधिकारीले जानकारी दिए। उक्त प्रतियोगिताको एसिया रग्बीका उपाध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव टंकलाल घिसिङले गरेका थिए। सो अवसरमा नेपाल रग्बी संघका अध्यक्ष डा. दीपक देवकोटा, वरिष्ठ उपाध्यक्ष चेतनराज गिरी र महासचिव गोविन्द घिमिरे उपस्थित थिए। जेबी स्कुल तेस्रो स्थानमा रह्यो।
निर्धारित र थप समयमा खेल बराबरी भएको थियो। तर, क्वाइन टसमा जेबीले जोशेफ हाई स्कुलमाथि जित निकाल्यो। जेबीले तेस्रो स्थानको लागि भएको खेलमा जोशेफ हाई स्कुललाई १–० ले हराएको हो। विजेताले सात हजार, उपविजेताले पाँच हजार र तेस्रो स्थानको तीन हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाए।
प्रतियोगिताको बेस्ट प्लेअर इन्टरनेसनल जोसेफ स्कुलकी डोल्मु लामा घोषित भइन्। उनले ट्रफी प्राप्त गरेकी थिइन्। जेसीआई नेपालका २०२६ का राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर जीवन कार्की, नेपाल रग्बी संघका अध्यक्ष डा. दीपक देवकोटा र नेपाल विद्यालय रग्बी कमिसनका अध्यक्ष दीपक अधिकारीले पुरस्कृत गरेका थिए।
समापनमा नेपाल रग्बी संघ तथा नेपाल स्कुल रग्बी आयोगका बोर्ड सदस्यहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताले विद्यालय तहमा महिला रग्बीको विकास र युवा खेलाडीको प्रतिभा प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने आयोजकले जनाएको छ।