प्रतिबन्ध फुकुवाको पर्खाइमा रेफ्री कार्की

काठमाडौं। फुटबल रेफ्री विश्वास विक्रम कार्कीले लामो समयदेखि रेफ्रीको भूमिकामा फर्किन नपाएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) काे प्रतिबन्ध फुकुवाका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत फुटबल रेफ्रीका रूपमा मैदानमा सिठ्ठी बजाउँदा पाउने आनन्द र दर्शकको गाली तथा तालीले दिने उत्साहलाई सम्झँदै आफू पुनः मैदानमा फर्किन आतुर रहेको बताएका छन्।

‘सिठ्ठी बजाउनमा जस्तो मज्जा अरू केमा छ र ?’ भन्दै उनले दर्शकको गुञ्जायमान आवाज र खेलका क्रममा हुने गाली तथा तालीले शरीर थाकेर लखतरान पर्दा पनि मनमा छुट्टै जोश आउने उल्लेख गरेका छन्।

उनले आफूलाई फुटबल रेफ्री भएकोमा गर्व रहेको बताउँदै ‘कहिले हुन्छ प्रतिबन्ध फुकुवा ?’ भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा), राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयलाई प्रशन गरेका छन्।

कार्कीले रेफ्री पेशा आफ्नो रहर मात्र नभई घरपरिवार चलाउने आधारसमेत भएको उल्लेख गरेका छन्। उनको यो भनाइले प्रतिबन्धका कारण मैदानबाहिर रहेका रेफ्रीहरूको व्यावसायिक तथा आर्थिक अवस्थाबारे पनि प्रश्न उठाएको छ।

गत असार १० गते (२४ जुन २०२६) अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै नेपाललाई निलम्बन गरेको थियो। फिफाको वेबसाइटमा प्रकाशित सूचनाअनुसार फिफा काउन्सिलको ब्युरोले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तत्काल प्रभावबाट निलम्बन गर्ने निर्णय गरेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको