दिनेश स्मृति गाईजात्रा फुटबलको महिलातर्फ अम्बासेडर एकेडेमी च्याम्पियन

काठमाडाैं। नमुना स्पोर्ट्स क्लब, गोदावरीको आयोजनामा गोदावरी–३, ललितपुरमा सम्पन्न ‘दिनेश स्मृति गाईजात्रा फुटबल प्रतियोगिता’को महिलातर्फको उपाधि अम्बासेडर एकेडेमीले जितेको छ।

भदौ १२ र १३ गते दुई दिन सञ्चालन भएको प्रतियोगिताको फाइनलमा अम्बासेडर एकेडेमीले बुद्धि विकास खेल मण्डललाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गर्दै उपाधि जितेको हो। निर्धारित समय गोलरहित बराबरिमा सकिएको थियो। महिलातर्फ प्रतियोगितामा ७ टोली सहभागी भएका थिए।

उपाधि विजेता अम्बासेडर एकेडेमीले नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता बुद्धि विकास खेल मण्डलले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

क्लबका अध्यक्ष डम्बर बहादुर स्याङ्तानका अनुसार स्थानीय स्तरमा फुटबल खेलको विकास तथा महिला खेलाडीको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता दिनेशको स्मृतिमा समर्पित गरिएको उनले बताए।

अध्यक्ष स्याङ्तानले प्रतियोगिताले स्थानीय महिला खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायमा खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको