खालिबारी एफसीलाई उपाधि

ललितपुर — नमुना स्पोर्ट्स क्लब, गोदावरीको आयोजनामा गोदावरी–३, ललितपुरमा सम्पन्न ‘दिनेश स्मृति गाईजात्रा फुटबल प्रतियोगिता’को पुरुषतर्फको उपाधि खालिबारी एफसीले जितेको छ।

भदौ १२ र १३ गते दुई दिन सञ्चालन भएको प्रतियोगिताको फाइनलमा खलिबारी एफसीले टीएसएसलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। प्रतियोगितामा पुरुषतर्फ १२ टोलीको सहभागिता रहेको थियो।

उपाधिसँगै खालिबारी एफसीले नगद ६० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता टीएसएसले ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

क्लबका अध्यक्ष डम्बर बहादुर स्याङ्तानका अनुसार स्थानीय स्तरमा फुटबल खेलको विकास तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिता दिनेशको स्मृतिमा समर्पित गरिएको उनले बताए।

अध्यक्ष स्याङ्तानले प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै समुदायमा खेलकुदप्रतिको आकर्षण बढाउन योगदान पुर्‍याएको बताए।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको