बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको तेस्रो दिन आठ खेल सम्पन्न

काठमाडौं। बाल दीक्षा सदन स्कुलको आयोजनामा भइरहेको पाँचौँ संस्करणको बीडीएस यू–१२ मिनी बास्केटबल च्याम्पियनसिपको तेस्रो दिन आठ खेल सम्पन्न भएका छन्।

प्रतियोगिताको तेस्रो दिन छात्रतर्फ पाँच तथा छात्रातर्फ तीन खेल भएका हुन्। छात्रातर्फको पहिलो खेलमा निष्ट स्कुल ‘बी’ ले रातो बंगला स्कुललाई १२–४ ले पराजित गर्‍यो। अर्को खेलमा आर्या स्कुलले युरो स्कुल कोटेश्वरलाई १६–८ ले हरायो। यो युरो स्कुलको लगातार दोस्रो हार हो भने आर्या स्कुलको पहिलो जित हो। त्यस्तै, चेस्सी वल्ड स्कुलले निष्ट स्कुल ‘ए’ लाई १६–२ ले पराजित गर्‍यो।

छात्रतर्फको पहिलो खेलमा मनास्लु वल्ड स्कुलले निष्ट स्कुललाई २१–२ ले हरायो। अर्को खेलमा राराहिल मेमोरियल स्कुल सनसाइन सेकेन्डरी स्कुलसँग ३२–८ ले पराजित भयो।

त्यसैगरी, रातो बंगला स्कुल इनोभेटिभ इङ्लिस स्कुलसँग १२–५ ले पराजित भयो। छात्रतर्फकै अर्को खेलमा आयोजक बीडीएस ओएसिस इङ्लिस स्कुलसँग ११–२ ले पराजित भयो। बीडीएसकै अर्को टोली सनसाइनसँग ३०–८ ले पराजित भयो। यो जितसँगै सनसाइनले प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ।

लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा २१ विद्यालयको सहभागिता रहेको छ। ती विद्यालयबाट छात्रतर्फ १३ र छात्रातर्फ १२ गरी २५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। केही विद्यालयले छात्र र छात्रातर्फ एकभन्दा बढी टोलीसमेत सहभागी गराएका छन्। प्रतियोगिताका विजेताले ट्रफी प्राप्त गर्नेछन्।

बास्केटबलको विकासमा ग्रासरुट तहदेखि नै योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता एक सातासम्म सञ्चालन हुनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको