काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) को तेस्रो संस्करणमा पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई १५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।
कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्ता पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रनको योगफल तयार गर्यो । चितवनले ओपनर डाविड मलानको अर्धशतक सहयोगमा प्रतिस्पर्धात्मक योगफल तयार गरेको हो । ओपनर मलानले ७० रनको योगदान गरेका थिए । मलानले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए । यस संस्करणको पहिलो अर्धशतक मलानलले ४१ बलमा पूरा गरेका थिए ।
मलानसँगै टोलीको ओपनिङमा उत्रिएका देव खनालले १५ बलमा १ चौकाको सहयोगमा १२ रन जोडेका थिए । मलान र खनालले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । चितवनका नियमित कप्तान कुशल मल्ल चोटका कारण बाहिर रहँदा टोलीको नेतृत्व गरेका रबि बोपाराले २६ बलमा ३१ रनको योगदान गरे ।
टोलीबाट पहिलो पटक मौका पाएका डान मोस्लेले २१ बलमा २९ रनको योगदान गरे । बोपारा र मोस्लले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरे । चितवनका लागि ब्याटिङमा नेपाली खेलाडी योगदान खास रहन सकेन । ब्याटिङका लागि मौका पाएका खनालले १२ तथा अर्जुन साउदले ९ बलमा मात्र ३ रन जोडे ।
विराटनगरका लागि विदेशी खेलाडीहरु आन्द्रे रसल, एन्जेलो म्याथ्युज तथा चरिथ असलंकाले समान १ सफलता दिलाउँदा नेपालली बलरहरु विकेट बिहिन रहे ।