काठमाडौं । सिकेन्द्र सिंह एक्लैले चार गोल गरेपछि न्युरोड टिम (एनआरटी) भेट्रानले थासाङ एफसीलाई ९–० को फराकिलो अन्तरमा निराश पार्दै मंगलबार तेस्रो भेट्रान्स फुटबल प्रतियोगितामा सानदार सुरुआत गरेको छ।
फुटबलर्स मिसन टुगेदरको आयोजनामा वर्षेनी हुने प्रतियोगिताको तेस्रो संस्करणको पहिलो दिन मंगलबार मध्यपुर युथ एसोसिएसनको सानोथिमीस्थित मैदानमा एनआरटीका लागि सिकेन्द्रको ४ गोलमा पूर्व राष्ट्रिय स्ट्राइकर नरेन्द्र श्रेष्ठले २ गोल थपे भने पूर्व राष्ट्रिय खेलाडीत्रय नवीन न्यौपाने, जीवेश पाण्डे र गणेश लावतीले १/१ गोलमा नाम लेखाए।
समूह ‘बी’ मा यो जितपछि एनआरटी ३ अंकका साथ क्वार्टरफाइनलको नजिक पुग्दा थासाङले चाँही अब अन्तिम ८ पुग्नका लागि समूहको अर्को टोली रिभर फिल्डविरुद्धको खेलमा भाग्य परिक्षण गर्नुपर्नेछ।
तर त्यो खेलमा आफूले जितेरमात्र थासाङको अन्तिम आठ यात्रा तय हुने छैन। रिभरफिल्डमाथि आफूले फराकिलो जित हासिल गर्नुका साथै एनआरटी रिभरफिल्डसँग पराजित भएमा मात्र थासाङ क्वार्टरफाइनल पुग्नेछ।
समूहमा एनआरटीले रिभरफिल्डसँग बुधबार खेल्नेछ भने थासाङ र रिभरफिल्डबीच समूहको अन्तिम खेल बिहीबार हुनेछ। लिगकम नकआउट प्रणालीमा हुने प्रतिस्पर्धामा सहभागी २४ टोलीलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहबाट शीर्ष टोली क्वार्टरफाइनल पुग्नेछन्।
समूह ‘ए’ मा मंगलबार अभिशेक चर्च र विजय युथले बराबरी खेल्दै प्रतियोगिताको सुरुआत गरे । उद्घाटन खेलमा एकअर्काविरुद्ध मैदान उत्रिएका दुवै टोलीले कुनै पनि गोल गर्न सकेनन्।
अभिशेकले बुधबार समूहको अर्को टोली जोरपाटी क्लबसँग खेल्नेछ भने बिहीबार विजय युथ र जोरपाटीबीच प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै समूह ‘सी’ को खेलमा कैलाली भेट्रान्सले चितवन भेट्रान्समाथि २–० को जित हासिल गर्दा मंगलबारै समूह ‘डी’ अन्तर्गत भएको खेलमा त्रिभुवन आर्मी क्लबको टिएएफसी भेट्रान्सले कीर्तिपुर भेट्रान्सलाई ५–० को अन्तरमा हरायो ।
आर्मीको जितमा पूर्व राष्ट्रिय खेलाडी राजु तामाङले २ गोल गरे भने मनोज लामाको नाममा २ गोल रहयो । सुदूरपश्चिमको कैलालीका लागि बालकृष्ण चौलागाईं र श्यामबहादुर श्रेष्ठले गोल गरेका थिए ।
समूह ‘सी’ अन्तर्गत चितवन भेट्रान्सले बुधबार समूहको अर्को टोली चाबहिल युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ भने बिहीबार चाबहिल र कैलालीबीच प्रतिस्पर्धा हुनेछ ।
यसैगरी समूह ‘डी’को कीर्तिपुरले विष्णु पादुका क्लबसँग बुधबार तथा टिएएफसी भेट्रान्सले विष्णु पादुकासँग बिहीबार खेल्नेछन् ।
नागार्जुन नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा मध्यपुर नगरपालिका र ललितपुर नगरपालिकाको पनि सहयोग छ । यसैगरी केसी ग्रुप, कार्की ब्याङ्क्वेट, योयो मम, चिन्डिज सेक्युरिटिज, पोन्ट्स स्पोर्ट्स, सनराइज फर्निचर, स्पार्क होम हेल्थ हस्पिटल, ब्लुक्रस हस्पिटल तथा नेपाल–कोरिया मैत्री नगरपालिकाको सहकार्य रहेको आयोजकले जनाएको छ ।
यही कात्तिक २० सम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद १२ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइनेछ ।