भुटानकाे पाेस्टमा नेपालले गर्याे ८ गाेल, उक्लियाे शीर्ष स्थानमा


काठमाडौं। भुटानमाथि गोलको वर्षा गर्दै नेपाल साफ महिला यु–२० च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा शनिबार भएकाे खेलमा नेपालले भुटानलाई ८-० गाेलले पराजित गरेकाे हाे।

नेपाललाई जित दिलाउन पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरिन्। समीक्षा मगर र कुशुम खतिवडाको नाममा समान १ गोल रह्यो।

खेलको ४४औं सेकेन्डमै नेपालले सुरुआती अग्रता लियो। मीनाले माथिल्लो बारतर्फबाट प्रहार गरेकाे बल सहजै गोलमा परिणत गरिन्।

नवौं मिनेटमा समीक्षाले अर्को गोल थपिन्। त्यसको तीन मिनेटपछि नै मीनाले व्यक्तिगत दोस्रो गोल गरिन्।

२३औं मिनेटमा नेपालले अग्रता ४–० मा पुर्‍यायो। मीनाले दिएको पासलाई गोल लाइनजिक रहेकी पूर्णिमाले सहजै गोलमा फरिणत गरिन्। इन्जुरी समयमा पूर्णिमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गरिन्।

सरिताले प्रहार गरेको बल भुटानी गोलकिपरले बचाउने प्रयास गरेकी थिइन्। तर, रिबाउन्डमा आएको बललाई पूर्णिमाले हेडरमार्फत गोल गरिन्।

इन्जुरी समयको अन्तिम सेकेन्डतिर पूर्णिमाले ह्याट्रिक पूरा गरिन्।

जारी प्रतियोगितामा उनको यो दोस्रो ह्याट्रिक हो। यसअघि उनले भुटानविरुद्धको ५-१ को जितमा पनि यो उपलब्धि हासिल गरेकी थिइन्। योसँगै शीर्ष गोलकर्ताको सूचीमा अग्रस्थानमा रहेकी उनले आफ्नो गोल संख्या १० मा पुर्‍याएकी छन्।

६४औं मिनेटमा कुशुमले अग्रता ७–० मा पुर्‍याइन्। वैकल्पिक खेलाडीको रूपमा मैदान उत्रिएकी उनले सुक्रियाको क्रसमा गोल गरेकी हुन्। लगत्तै सुक्रियाको उस्तै क्रसमा अनमार्क मीनाले सहजै गोल गर्दै ह्याट्रिक पूरा गरिन्।

जारी प्रतियोगितामा मीनाको यो दोस्रो ह्याट्रिक हो। यसअघि उनले श्रीलंकाविरुद्ध ७–० को जित निकाल्ने क्रममा ह्याट्रिक गरेकी थिइन्। योसँगै उनको गोलसंख्या ७ पुगेको छ।

यो जितसँगै आयोजक बंगलादेशलाई उछिन्दै नेपाल शीर्ष स्थानमा उक्लिएको छ। नेपालले ५ खेलबाट १२ अंक पुर्‍याएको छ। एक खेल कम खेलेको बंगलादेशको पनि समान अंक छ। तर, गोलअन्तरमा नेपाल अगाडि छ। नेपालले ३० गोल गर्दा ४ गोल खाएको छ।

बंगलादेशले भने १९ गोल गर्दै ४ गोल दिएको छ। जसमा दुई गोल नेपालले गरेको थियो। शनिबार नै दोस्रो खेलमा बंगलादेश र श्रीलंका खेल्नेछन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको