काठमाडौँ। रुकुम पश्चिम ट्रेनिङ सेन्टरले नवौँ एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित दर्ता गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार सम्पन्न चौथो दिनको पहिलो खेलमा समूह ‘सी’को रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गरेको हो।
रुकुमले पहिलो दुई सेट २५–२० र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। तेस्रो सेटमा भने जावलाखेलले २५–२३ को जित निकाल्दै खेलमा फर्किने प्रयास गर्यो। तर चौथो सेटमा पुनरागमन गरेको रुकुमले २५–१८ ले सेट जित्दै खेल आफ्नो पक्षमा पार्यो।
यसअघि पहिलो खेलमा रुकुम पश्चिमले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो। यता, जावलाखेलले प्रतियोगिताको पहिलो खेलमै पराजय व्यहोरेको छ।


