काठमाडौं। शानदार ब्याटिङ प्रदर्शन गर्दै नेपालले जिम्बावेविरुद्ध ६ विकेटको सानदार जित हात पारेको छ।
आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोट अन्तर्गत शनिबार त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले पराजित गरेको हो।
जिम्बावेले दिएको १३० रनको लक्ष्य १९।३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो।
खेलको सुरुआत नेपालका लागि सहज भने रहेन। ५.३ ओभरमै ४७ रन जोड्दा नेपालले दुई महत्वपूर्ण विकेट गुमाएको थियो। त्यसपछि मध्यक्रममा कप्तान इन्दु वर्मा र उपकप्तान पूजा महतोले सम्हालिँदो ब्याटिङ गर्दै ३५ रनको महत्वपूर्ण साझेदारी गरे। कप्तान इन्दु वर्मा आउट भएपछि साझेदारी टुटे पनि नेपालले खेलमाथि नियन्त्रण कायम राख्न सफल रह्यो।
नेपालको जितमा उपकप्तान पूजा महतोले सर्वाधिक रन बनाउँदै निर्णायक भूमिका खेलिन्। कप्तान इन्दु वर्माले २३ बलमा १ छक्का र २ चौकाको मद्दतमा २२ रन जोडिन्।
सीता रानामगरले ११ रन बनाएर इन्जुरीका कारण मैदान छाडिन्। बिन्दु रावलले १५ रन तथा सम्झना खड्काले ९ रनको योगदान दिइन्। जिम्बावेका लागि जोसेफिने नकाई नकोमोले सर्वाधिक दुई विकेट लिइन् भने नोमवेलो सिबन्दा र क्रिसटाबेल चाटोनज्वाले समान एक–एक विकेट हात पारिन्।


