काठमाडौं। राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न तीन खेलमा एनआरटी, एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न पहिलो खेलमा एनआरटीले फ्रेन्ड्स क्लबलाई १–० ले पराजित गरेको हो। एनआरटीको जितमा आशिष गुरुङले ६७औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
दोस्रो खेलमा विभागीय टोली एपीएफले संकटा फुटबल क्लबलाई २–१ ले पराजित गर्यो। दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफको जितमा प्रदीप लामाले २९औँ मिनेटमा गोलको खाता खोले भने युवराज खड्काले ५१औँ मिनेटमा निर्णायक गोल गरे। संकटाका गणेश हमालले ८१औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
तेस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले जावलाखेल युथ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्यो। अबोयमी फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा सानदार जित निकालेको हो।
खेलको २६ औं मिनेटमा चर्च ब्वाइजका मिलन राईले प्रहार गरेको बल जावलाखेलका गोलकिपर युनिस चौधरीले बचाउ गरे। ५५औं मिनेटमा चर्च ब्वाइजका अबयोमीले गोल गर्दै खेलमा अग्रता लियो। ६०औं मिनेटमा मिलनले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाए। ६८औं मिनेटमा अबयोमीले व्यक्तिगत दोस्रो गोल गरे।


