काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल बलियो प्रदर्शनका बाबजुद इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ।
भारतको मुम्बईस्थित वानखडे क्रिकेट रंगशालामा आइतबार सम्पन्न समूह ‘सी’ अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले अन्तिम क्षणसम्म संघर्ष गरे पनि जित हात पार्न सकेन।
इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन बनायो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४४ रन बनाए भने कप्तान रोहित पौडेलले ३९ रनको योगदान दिए। लोकेश बम ३९ रनमा नटआउट रहे भने कुशल भुर्तेलले २९ रन जोडे।
इंग्ल्यान्डका तर्फबाट लियाम डसनले २ विकेट लिए। साम करन, लुक उड, जोफ्रा आर्चर र विल ज्याक्सले समान १–१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको थियो। इंग्ल्यान्डका लागि ज्याकोब बेथेलले ५५ रन, ह्यारी ब्रुकले ५३ रन बनाए। विल ज्याक्स ३९ रनमा नटआउट रहे भने जोस बटलरले २६ रनको योगदान दिए।
नेपालका बलरमध्ये दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए। शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट झारे।


