काठमाडौं। न्युजिल्यान्डले युएईलाई १० विकेटले पराजित गर्दै आईसीसी टी २० विश्वकपमा एकपक्षीय जित हात पारेको छ युएईले दिएको १७४ रनको लक्ष्य न्युजिल्यान्डले १५.२ ओभरमै विकेट नगुमाई पूरा गर्यो।
पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। कप्तान मोहम्मद वसीमले अविजित ६६ रन (४५ बल) र अलिशान शरफुले ५५ रन (४७ बल) बनाए। मयंक कुमारले २१ रनको योगदान दिए। न्युजिल्यान्डका बलरमध्ये म्याट हेनरीले २ तथा डफी, फर्गुसन, स्यान्टनर र फिलिप्सले समान १–१ विकेट लिए।
जवाफमा न्युजिल्यान्डका ओपनरहरू रोक्नै नसकिने बने। टिम सेइफर्टले अविजित ८९ रन (४२ बल) बनाउँदै १२ चौका र ३ छक्का प्रहार गरे। उनलाई फिन एलेनले अविजित ८४ रन (५० बल) बनाएर उत्कृष्ट साथ दिए। दुवैले पहिलो विकेटका लागि १७५ रनको अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।
युएईका कुनै पनि बलरले विकेट लिन सकेनन्। आक्रामक ब्याटिङ र बलियो सुरुवातकै कारण न्युजिल्यान्डले खेललाई पूर्ण रूपमा आफ्नो पक्षमा राख्यो।


