प्लानिङ ब्वाइजको शानदार पुनरागमन, चित्लाङमाथि ५–२ को प्रभावशाली जित


काठमाडौं । एन्फा राष्ट्रिय लिग अन्तर्गत प्लानिङ ब्वाइज युनाइटेडले उत्कृष्ट पुनरागमन गर्दै प्रभावशाली जित हात पारेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा प्लानिङ ब्वाइजले चित्लाङ एफसीलाई ५–२ गोलले पराजित गरेको हो।

प्लानिङ ब्वाइजको जितमा पापा इबु केबेले दुई गोल गरे भने एलेक्स विलेनी, निङ्मा घिसिङ र प्रतापसिंह राईले समान एक–एक गोल थपे।

खेलको २२औँ मिनेटमा सोलोमोन इलिसान्मिकाले गोल गर्दै चित्लाङलाई सुरुआती अग्रता दिलाएका थिए। तर, २९औँ मिनेटमा पापा इबु केबेले बराबरी गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए। त्यसको चार मिनेटपछि एलेक्स विलेनीले गोल गर्दै प्लानिङलाई २–१ को अग्रता दिलाए।

३६औँ मिनेटमा निङ्मा घिसिङले गोल थपेपछि प्लानिङ ३–१ ले अघि बढ्यो। यद्यपि ३९औँ मिनेटमा चित्लाङका सोलोमोन इलिसान्मिकाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे र पहिलो हाफ ३–२ को स्थितिमा सकियो।

दोस्रो हाफमा भने प्लानिङ ब्वाइजले खेलमा पूर्ण नियन्त्रण जमायो। ६९औँ मिनेटमा प्रतापसिंह राईले गोल गरेपछि टोलीको अग्रता ४–२ बन्यो। खेलको ८७औँ मिनेटमा पापा इबु केबेले व्यक्तिगत दोस्रो गोल गर्दै प्लानिङ ब्वाइजलाई ५–२ को शानदार जित दिलाए।

यस जितसँगै ११ खेलबाट प्लानिङ ब्वाइजले २२ अंक जोडेको छ। समान खेल खेलेको चित्लाङ एफसी भने ७ अंकमै सीमित रहेको छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको