काठमाडौं। राप्ती फुटबल क्लबले शहिद स्मारक महिला लिगबाट आफूलाई अचानक हटाइएको भन्दै गम्भीर आपत्ति जनाउँदै पुनः बहालीको माग गरेको छ।
क्लबले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै चैत ४ गतेदेखि सुरु हुने लिगमा आफूलाई अनुचित रूपमा हटाइएको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको हो।
विज्ञप्तिमा एन्फाले प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिसकेको अवस्थामा खेल सुरु हुनुभन्दा करिब ४८ घण्टा अगाडि मात्र राप्ती फुटबल क्लबलाई प्रतियोगिताबाट हटाइएको जानकारी दिइएको उल्लेख गरिएको छ। क्लबका अनुसार यस्तो निर्णय खेल भावना र पारदर्शिताविपरीत भएको छ।

राप्ती फुटबल क्लबले आफूले एन्फाले तोकेको सबै प्रशासनिक तथा प्राविधिक मापदण्ड पूरा गरी क्लब दर्ता, खेलाडी अनुबन्ध, प्रशिक्षण टोली व्यवस्थापन तथा अन्य आवश्यक तयारी पूरा गरिसकेको दाबी गरेको छ। छोटो समयमै खेलाडी अनुबन्ध, प्रशिक्षण र व्यवस्थापनमा ठूलो आर्थिक लगानी गरिएको पनि क्लबले जनाएको छ।
क्लबले अन्तिम समयमा प्रतियोगिताबाट हटाउँदा खेलाडीहरूको भविष्यमा प्रत्यक्ष असर पर्ने र महिला फुटबलको विकासमा नकारात्मक प्रभाव पर्ने बताएको छ।
राप्ती फुटबल क्लबका महासचिव पुष्पराज पाण्डेले जारी गरेको विज्ञप्तिमा सबै मापदण्ड पूरा गरेर खेलाडीलाई मैदानमा उतार्न तयार भएको अवस्थामा यस्तो निर्णय नेपाली फुटबलका लागि दुःखद हुने उल्लेख गरिएको छ।
क्लबले प्रतियोगिताको खेल तालिका अनुसार आफूलाई महिला लिगमा पुनः सहभागी गराउन माग गर्दै यस विषयलाई राष्ट्रिय खेलकुद परिषद्, एसियाली फुटबल महासंघ र विश्व फुटबल महासंघसम्म लैजाने तयारी गरेको पनि जनाएको छ।
आइतबार एन्फा कम्प्लेक्समा सम्पन्न सहभागी क्लबहरुको बैठकपछि एन्फाले राप्तीलाई लिग खेल्न नदिने निर्णय गरेको थियो। लिगमा गत सिजन सुपर स्टेजमा प्रतिस्पर्धा गरेका पाँच र भदौमा सम्पन्न छनोट प्रतियोगिताबाट छानिएका पाँच गरि १० टोलीको सहभागिता हुने कुरा थियो।
प्रेस विज्ञप्ति



