काठमाडौं। एन्फा राष्ट्रिय लिग अन्तर्गत आज तीन महत्वपूर्ण खेल हुँदैछन्, जसले तालिकाको शीर्ष स्थानको प्रतिस्पर्धालाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान १० बजे सुरु हुने पहिलो खेलमा चित्लाङ फुटबल क्लब र लालीगुराँस एसोसिएसन आमनेसामने हुनेछन्। हालसम्म १२ खेलबाट आठ अंक जोडेको चित्लाङ १५औं स्थानमा छ भने समान खेलबाट २४ अंक बनाएको लालीगुराँस चौथो स्थानमा रहेको छ। यस खेलमा जित हात पारे लालीगुराँस केही समयका लागि शीर्ष स्थानमा उक्लिन सक्नेछ।
दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातदोबाटो युवा क्लबको सामना गर्नेछ। दशरथ रंगशालामा दिउँसो २ बजे सुरु हुने यस खेलमा दुवै टोली जितको खोजीमा रहनेछन्। पछिल्ला तीन खेलमा बराबरीमा रोकिएको सातदोबाटो ११ खेलबाट एक जितसहित ९ अंकका साथ १४औँ स्थानमा छ। उता, २३ अंक जोडेको आर्मी पाँचौँ स्थानमा रहेकाले जितसहित शीर्ष स्थानतर्फ उक्लने लक्ष्यमा हुनेछ।
दिनको अन्तिम तथा सर्वाधिक चासोको खेलमा एपीएफ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। शीर्ष स्थानको होडमा रहेका दुवै टोली समान ११ खेलबाट २५–२५ अंकसहित क्रमशः पहिलो र तेस्रो स्थानमा छन्, जबकि समान अंक भएको चर्च ब्वाइज युनाइटेड दोस्रो स्थानमा छ।
आजका खेलहरूले लिगको शीर्ष स्थानको समीकरणमा महत्वपूर्ण असर पार्ने निश्चित देखिन्छ।


