काठमाडौं। चीनको होकाईमा जुलाई ४ देखि ९ तारिखसम्म हुने चौथो थाउलो वर्ल्डकपका लागि नेपालका दुई खेलाडी छनोट भएका छन्।
छनोट हुनेमा चाङछ्वान (चेनसु) विधामा विजय सिन्जाली र ताओलु विधामा सुस्मिता तामाङ रहेका छन्। उनीहरू वर्ल्डकपमा स्थान बनाउन सेप्टेम्बर १ देखि ७ सम्म ब्राजिलको ब्रासिलियामा सम्पन्न १७औं विश्व च्याम्पियनसिपमा सहभागी भएका थिए।
उक्त प्रतियोगितामा विजयले ९.७१० र सुस्मिताले ९.६७० अंक प्राप्त गर्दै वर्ल्डकपका लागि छनोट सुनिश्चित गरेका हुन्।
विजय सिन्जाली यसअघि जापानको योकोहामामा सम्पन्न तेस्रो उसु थाउलो वर्ल्डकपमा ऐतिहासिक कास्य पदक जित्न सफल भएका थिए। उक्त उपलब्धिपछि उनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार समेत प्राप्त गरेका थिए। हाल उनी न्युजिल्यान्डस्थित एनजेड उसु एकेडेमीमा वैदेशिक प्रशिक्षणमा रहेका छन्।
त्यसैगरी सुस्मिता तामाङलाई नेपाल ओलम्पिक कमिटीले एसियन गेम्स सम्पन्न नभएसम्मका लागि मासिक ५० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ। उनी पनि छिट्टै वैदेशिक प्रशिक्षणमा जाने तयारीमा छिन्।
यी दुवै खेलाडी १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता हुन्। दुवै खेलाडी मेहनती र प्रतिभाशाली भएकाले यसपटक पनि वर्ल्डकपमा नेपाल पदक दाबेदार टोलीका रूपमा रहने अन्तर्राष्ट्रिय उसु प्रशिक्षक निकेश श्रेष्ठले बताएका छन्।


