काठमाडौं। डिफेन्डिङ च्याम्पियन कृषि विकास बैंक र जनक शिक्षा सामाग्री केन्द लिमिटेड १५ औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत फुटसलको पुरुषमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा कुलेश्वरस्थित भिजनोभा रिक्रिएसनमा भएको प्रतियोगितामा नेपाल बायु सेवा निगम ‘ए’, नेपाल विद्युत प्राधिकरण ‘ए’ र ‘बी’, काठमाडौ उपत्यका खानेपानी लिमिटेड, नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ तथा नेपाल बैंक लिमिटेड पनि क्वाटरफाइनलमा सुरक्षित गर्न सफल रहे।
पुरुषमा १३ र महिलामा ७ टिम सहभागी छन्। शनिबार पुरुष÷महिला दुवैमा सेमिफाइनल सेमीकरण तयार हुनेछ। फाइनल आइतबार हुनेछ। पुरुषमा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। महिलामा विजेताले ३५ हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने आयोजक इशानका अध्यक्ष रामविनय श्रेष्ठले जनाएका छन्। महिलामा पनि कृषि नै साविक विजेता हो।
कर्मचारी खेलकुदअन्तर्गत फुटसल अन्तिम प्रतियोगिता हो। विभिन्न ४ खेल समावेश प्रतियोगितामा ब्याडमिन्टन, टेबलटेनिस र बुद्धिचाल सम्पन्न भइसकेको छ। ब्याडमिन्टनमा कृषि विकास बैंकले २ तथा विद्युत, नेपाल नागरिक उड्डयन प्राधिकरण, एनसेल र एनटीसीले समान १–१ स्वर्ण जितेका छन्।
टेबलटेनिसमा एभरेष्ट बैंक लिमिटेड र नेपाल वायु सेवा निगमले समान २–२ तथा नागरिक उड्डयनले १ स्वर्ण हात पारेका छन्। बुद्धिचालमा निगमका दिपेन्द्र ठाकुर विजेता बने।