काठमाडौँ। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल लगातार दोस्रो खेलमा पनि पराजित भएको छ। बिहीबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भयो।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४।४ ओभरमा १५७ रनमै समेटिएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। गुल्सन झाले २९, दीपेन्द्रसिंह ऐरीले २१, आसिफ शेखले १४, करण केसीले अविजित १३ तथा सोमपाल कामीले १० रन जोडे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेदरल्यान्ड्सका लागि एलेक्स रोय, रोलोफ भान डर मर्वे र लोगन भान बिकले उत्कृष्ट बलिङ गर्दै क्रमशः ३–३, ३ र २ विकेट लिए। काइल क्लाइनले १ विकेट हात पारे।
१५८ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले ४४।१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। कप्तान स्कट एडवार्ड्स ६१ रनमा अविजित रहे भने नोआ क्रोसले अविजित ३४ रनको योगदान दिए। सेड्रिक डे लाङ्गे र जाक लायन–कासेटले समान २१ रन बनाए।
नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले समान १–१ विकेट लिए। सन्दीप लामिछाने र करण केसी विकेटविहीन रहे।
नेपालले अघिल्लो खेलमा पनि नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै १५७ रन बनाएको थियो। त्यस खेलमा ८ विकेटले पराजित भएको नेपाल यसपटक पनि समान स्कोर बनाएपछि नेदरल्यान्ड्ससँग ६ विकेटले हार बेहोर्न पुग्यो।
यो हारसँगै नेपाल शीर्ष तीनमा रहने सम्भावना कमजोर बनेको छ।