काठमाडौं। विश्व फुटबलकाे सर्वाेच्च निकाय फिफाले अर्जेन्टिना फुटबल टोली र अर्जेन्टिना फुटबल संघविरुद्ध अनुशासनात्मक अनुसन्धान सुरु गरेको छ। अनुसन्धानमा संलग्न ६ खेलाडी दोषी ठहरिए उनीहरूले आगामी विश्वकप खेल्न नपाउने अवस्था आउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
फिफाले विश्वकप सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई पराजित गरेपछि अर्जेन्टिनी खेलाडीहरूले ‘लास माल्भिनास अर्जेन्टिनाकै हुन्’ भन्ने राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शन गरेको घटनालाई अनुसन्धानको मुख्य विषय बनाएको छ। फिफाको नियमअनुसार खेल मैदान वा प्रतियोगितालाई राजनीतिक सन्देश प्रवाह गर्ने माध्यमका रूपमा प्रयोग गर्न पाइँदैन।
यस्तै, स्पेनसँग विश्वकप फाइनलमा पराजित भएपछि मैदानमा भएको झडपका कारणले आन्द्रो पारेदेस, नाहुएल मोलिना, थियागो आल्माडासहित केही खेलाडी तथा सहायक प्रशिक्षक रोबर्टो आयालामाथि पनि अनुसन्धान भइरहेको छ। उनीहरूमाथि खेल भावना विपरीत आचरण र दुर्व्यवहार गरेको आरोप लगाइएको छ।
यसका साथै विभेदपूर्ण व्यवहार, खेल ढिलो सुरु गराएको, सुरक्षा मापदण्ड उल्लङ्घन गरेको तथा समर्थकहरूको अनुचित गतिविधिलाई पनि अनुसन्धानमा समेटिएको फिफाले जनाएको छ।
फिफाले सबै सम्बन्धित पक्षसँग स्पष्टीकरण मागिसकेको छ। अनुसन्धानपछि दोष पुष्टि भए खेलाडी तथा अधिकारीहरूलाई निलम्बन, प्रतिबन्ध वा अन्य अनुशासनात्मक कारबाही हुन सक्नेछ। अन्तिम निर्णय भने अनुशासन समितिको छानबिनपछि मात्रै सार्वजनिक गरिनेछ।