काठमाडौं। लामो समयदेखि चलिरहेको अड्कलबाजीको अन्त्य गर्दै ब्राजिली स्टार फरवार्ड भिनिसियस जुनियरले रियल मड्रिडसँग नयाँ सम्झौता गरेका छन्।
नयाँ सम्झौताअनुसार उनी सन् २०३२ जुन ३० सम्म स्पेनिस महारथी रियल मड्रिडमै रहनेछन्। रियलले बिहीबार आधिकारिक रूपमा सम्झौताको पुष्टि गरेको हो। सम्झौताअघि भिनिसियसका प्रतिनिधि र क्लबका अधिकारीबीच अन्तिम चरणको छलफल भएको थियो।
क्लबले यसअघि प्रस्ताव गरिएकोभन्दा अझ आकर्षक आर्थिक प्याकेज अघि सारेपछि दुवै पक्षबीच सहमति जुटेको बताइएको छ। एक वर्षभन्दा बढी समयदेखि वार्ता रोकिँदा भिनिसियसको भविष्यबारे विभिन्न अड्कलबाजी हुँदै आएको थियो।
उनको अघिल्लो सम्झौता सन् २०२७ जुनसम्मका लागि थियो। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रियलको अघिल्लो प्रस्ताव वार्षिक करिब २२ मिलियन युरो बराबरको थियो भने नयाँ प्रस्तावमा त्यसलाई थप आकर्षक बनाइएको छ।
यसअघि भिनिसियसले वार्षिक करिब ३० मिलियन युरो पारिश्रमिकको माग गरेका थिए। पुरानो सम्झौताअनुसार उनले अन्तिम वर्षमा करिब १७.५ मिलियन युरो पारिश्रमिक पाउने व्यवस्था थियो।
रियलले जारी गरेको विज्ञप्तिमा क्लब र भिनिसियसबीचको सम्झौता सन् २०३२ जुन ३० सम्म लम्ब्याइएको उल्लेख गरिएको छ।
केही समयअघि भिनिसियसलाई इङ्लिस क्लब आर्सेनलसँग जोडेर विभिन्न चर्चा भएका थिए। उनलाई अनुबन्ध गर्न आर्सेनल कीर्तिमानी रकम खर्च गर्न तयार रहेको खबर सार्वजनिक भएका थिए। सम्झौता नवीकरण नभए रियल पनि उनलाई यही सिजन बेच्न तयार रहेको चर्चा चलेको थियो। तर अन्ततः भिनिसियसले आफ्नो भविष्य रियल मड्रिडमै सुरक्षित गर्ने निर्णय गरेका छन्।