विराटनगरमाथि चितवनको रोमाञ्चक जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) तेस्रो संस्करणमा चितवन राइनोजले विराटनगर किंग्समाथि रोमाञ्चक रुपमा ८ रनको जित हात पारेको छ ।

कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा चितवनले दिएको १५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा सबै विकेट गुमाएर १४९ रन मात्र बनायो । विराटनगरका लागि ओपनर इम्रान शेखले सर्वाधिक ३९ रन बनाए । उनले ३१ बलको सामना गरेर ४ चौका र २ छक्का प्रहार गरे ।

इम्रानसँगै ओपनिङमा आएका लोकेश बमले १४ बलमा २६ रनको इनिङ खेले । पहिलो विकेटका लागि लोकेश र इम्रानले ४० रनको साझेदारी गरेका थिए । लिगमा डेब्यु खेल खेलेका आन्द्रे रसेलले १७ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३३ रन जोडे ।

अनुभवी श्रीलंकन अलराउण्डर एन्जेलो म्याथ्युज १६ बलमा १४ रन बनाउँदै आउट भए । शुभम रञ्जने १० रनमा आउट हुँदा सन्दीप लामिछाने, प्रतिश जिसी र रुपेश सिंहले रनको खाता समेत खोल्न सकेनन् ।

एक समय १३२ रनमा ४ विकेट गुमाएर जितको नजिक पुगेको विराटनगरले थप १७ रन जोड्दा महत्वपुर्ण ६ विकेट गुमाएको थियो । चितवनका लागि आन्द्रे रसेलको विकेट लिदै टोलीलाई खेलमा फर्काएका कमलसिंह ऐरीले ४ ओभरमा २६ रन खर्चिएर ४ विकेट लिए । रिजन ढकालले २ तथा टोम टेलर, डान मौस्ले, रञ्जित कुमार र मौषम ढकालले समान १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्ता पाएको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको थियो । चितवनले ओपनर डाविड मलानको अर्धशतक सहयोगमा प्रतिस्पर्धात्मक योगफल तयार गरेको थियो । ओपनर मलानले ७० रनको योगदान गरेका थिए । मलानले ५० बलमा ५ चौका र ५ छक्का प्रहार गरेका थिए । यस संस्करणको पहिलो अर्धशतक मलानलले ४१ बलमा पूरा गरेका थिए ।

मलानसँगै टोलीको ओपनिङमा उत्रिएका देव खनालले १५ बलमा १ चौकाको सहयोगमा १२ रन जोडेका थिए । मलान र खनालले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । चितवनका नियमित कप्तान कुशल मल्ल चोटका कारण बाहिर रहँदा टोलीको नेतृत्व गरेका रबि बोपाराले २६ बलमा ३१ रनको योगदान गरे ।

टोलीबाट पहिलो पटक मौका पाएका डान मोस्लेले २१ बलमा २९ रनको योगदान गरेका थिए । बोपारा र मोस्लले चौथो विकेटका लागि ६७ रनको साझेदारी गरेका थिए । चितवनका लागि ब्याटिङमा नेपाली खेलाडी योगदान खास रहन सकेन । ब्याटिङका लागि मौका पाएका खनालले १२ तथा अर्जुन साउदले ९ बलमा मात्र ३ रन जोडेका थिए ।

विराटनगरका लागि विदेशी खेलाडीहरु आन्द्रे रसल, एन्जेलो म्याथ्युज तथा चरिथ असलंकाले समान १ सफलता दिलाउँदा नेपालली बलरहरु विकेट बिहिन रहे । आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । यो खेल अपराह्न ५ बजे सुरु हुनेछ ।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको