काठमाडाैँ । नेपाल प्रहरीका संयोग कपाली र एभीएमकी इभाना थापा मगरले प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगितामा स्वर्ण जितेका छन्। खुला सिंगल्सको पुरुषमा संयोग र महिलामा इभाना पहिलो भएका हुन्।
खोल्चा पुखु खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्स फाइनलमा संयोगले एभीएमका सुजन गडाललाई ७–११, ११–४, ११–८, १०–१२ र ११–६ को सेटमा पराजित गरे।
ललितपुर महानगरपालिका वडा ११ को मुख्य प्रायोजन तथा स्पिन इभेन्ट प्रा.लि. को व्यवस्थापनमा भएको प्रतियोगिताको महिला सिंगल्सको उपाधि भिडन्तमा इभानाले एभीएमकै वियंका राईलाई १०–१२, ११–८, १२–१० र ११–७ को सेटमा हराइन्।
शंखमूलस्थित इलेभन स्टार क्लबमा प्रतियोगितामा जम्मा ६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। यसअघि पुरुष भेट्रान सिंगल्सको ६० वर्षमाथि पूर्णशंकर श्रेष्ठ, ५० वर्षमाथि इखाछेंका राजेन्द्र वज्राचार्य र ४० वर्षमाथि काठमाडौंका उमेश मानन्धरले पहिलो स्थान हात पारे। वडा ११ को यु–१६ मा सोयम महर्जन पहिलो भए।
प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ। पुरुष÷महिला सिंगल्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ७ हजार ५ सय नगद पुरस्कार हात पारे। बाँकी ४ स्पर्धामा पहिलो हुनेले १० हजार, दोश्रोले ५ हजार र तेश्रोले २ हजार ५ सय नगद पुरस्कार पाए।
विजेतालाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, मुख्य प्रायोजक वडा ११ का अध्यक्ष अरोजकुमार खड्गीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। तीनदिने प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी थिए।


