विश्वकप लिग–२ : अमेरिकामाथि नेदरल्यान्ड्सको जित


काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेदरल्यान्ड्सले अमेरिकामाथि जित हासिल गरेको छ।

लिग–२ सिरिज अन्तर्गत त्रिकोणात्मक सिरिजको छैटौं खेलमा घरेलु टोलीले नेदरल्यान्ड्से अमेरिकामाथि २७ रनको जित हात पारेको हो।

यो सिरिजमा नेदरल्यान्ड्सको यो लागातार चौथो जित हो। अमेरिका, क्यानडा र घरेलु टोलीबीचको यस राउन्डमा घरेलु टोलीले शतप्रतिशत जित निकाल्दा क्यानडाले चारै खेल गुमायो भने अमेरिकाले २ मा जित तथा २ खेलमा हार ब्याहोर्यो।

घरेलु टोली नेदरल्यान्ड्सले दिएको २०७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४५.५ ओभरमा अल आउट हुँदै १७९ रन मात्र बनायो।

पाहुना टोली अमेरिकाका लागि कप्तान मोनांक पटेलले सर्वाधिक ६६ रन जोडे। शयान जाहिङ्गर र हरमित सिंहले समान २० तथा शाल्डि भान साक्वयले १२ रन जोडे।

यता नेदरल्यान्ड्सका काइल क्लेनले ४, पल भान मेकरमले ३, आर्यान दत्त र भिभियन किंग्माले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २०६ रन जोड्न सफल भयो।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्स ओडाउडले सर्वाधिक ७७ रन जाडे। माइकल लेभिटले ३८ बलमा ३३, नोहा क्रोसले ३३ बलमा २७, विक्रमजित सिंहले २१ बलमा १८ तथा आर्यान दत्तले १० रन जोडे।

यता, अमेरिकाका लागि नोस्तुक केजिंके, शाल्डि भान साक्वय र हरमित सिंहले समान २ विकेट लिए।

आठ टोली सहभागी लिग टु को अंक तालिकामा नेदरल्यान्ड्स १२ अंकका साथ शीर्ष स्थानमा छ। पराजित अमेरिका ४ अंकका साथ पाँचौ स्थानमा छ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको