राफिन्हाको ह्याट्रिकसँगै भालाडोलिडको पोस्टमा बार्सिलोनाको ७ गोल


काठमाडौं । राफिन्हाको ह्याट्रिकसँगै स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भालाडोलिडमाथि सानदार जित हासिल गरेको छ।

शनिबार राति भएको खेलमा भालाडोलिडलाई ७-० ले पराजित गरेको हो।

बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक पूरा गर्दा रोबर्ट लेवान्डोस्की, डानी ओल्मो, फेरान टोरेस र जुल्स कोन्डेले समान एक गोल गरे।

जितसँगै नयाँ सिजनका सुरुआती चार खेलबाट १२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ। यता, पराजित भाडाडोलिडको समान खेलबाट चार अंक रहेको छ। भाडाडोलिड अंक तालिकाको १२औं स्थानमा छ।

राफिन्हाले खेलको २०औं मिनेटमै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। त्यसको चार मिनेटपछि नै लमिन यमलको पासमा लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर बनाए।

पहिलो हाफको इन्जुरी समयमा कोन्डेले गोल गर्दै अग्रता ३-० मा पुर्‍याए। ६४औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे। ७२औं मिनेटमा राफिन्हाले ह्याट्रिक पूरा गरे। दोस्रो गोल उनले लेवान्डोस्की र तेस्रो गोल यमलको पासमा सम्भव बनाएका हुन्।

निर्धारित खेल सकिन आठ मिनेट बाँकी रहँदा टोरेसको पासमा ओल्मोले अर्को गोल थपे। त्यसको तीन मिनेटपछि नै राफिन्हाको पासमा टोरेसले नै गोल गर्दै बार्सिलोनालाई ७-० को फराकिलो जित दिलाए।

 


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको