काठमाडौं । युइएफए नेसन्स लिग फुटबलमा इटालीले फ्रान्समाथि पुनरागमन जित हासिल गरेको छ।
फ्रान्सको पार्क दे प्रिंसेसमा शुक्रबार राति १२ सेकेण्डमै १ गोलले पछाडि परेको इटालीले फ्रान्सलाई ३–१ गोलको उत्कृष्ट कमब्याक जित निकालेको हो।
फ्रान्सका ब्राडली बारकोलाले १२ सेकेण्डमै गोल गर्दै घरेलु टोलीलाई सुरुमै अग्रता दिलाएका थिए। सेन्टरबाट बल चलेपछि बारकोलाले इटालीका डिफेन्डरबाट बल खोसेर सिधै पोस्ट चार्ज गर्दा गोल भएको थियो।
तर, ३०औं मिनेटमा इटालीका फेडरिको डिमार्कोले बराबरी गोल गरेका थिए। इटालीका सान्ड्रो तोनालीको पासमा डिमार्कोले भली प्रहार गर्दै बराबरी गोल गरेका थिए।
पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको खेलमा बाँकी दोस्रो हाफमा इटालीले २ गोल गर्न सफल भयो।
५०औं मिनेटमा डेभिड फ्राटेस्सी मेटाओ रेटेगुइको पासमा उत्कृष्ट गोल गर्दै इटालीलाई २–१ ले अघि बढाए। ७४औं मिनेटमा डेस्टिनी उडोगीले दिएको पासमा गियाकोमो रसपाडोरीले गोल गरेपछि इटालीले फ्रान्समाथि ३–१ को उत्कृष्ट कमब्याक गोल गरेको थियो।
जितपछि नेसन्स लिगको पहिलो खेलमै इटालीले ३ अंक लिन सफल भयो।


