
काठमाडौं । म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा सहज जित हासिल गरेको छ।
सेन्ट म्यारिज रंगशालामा शनिबार घरेलु टोली साउथह्याम्पटनविरुद्ध युनाइटेडले ३–० को जित हासिल गरेको हो।
युनाइटेडको जितमा म्याथिस डी लिग्ट, मार्कस रासफोर्ड र अलेजान्द्रो गार्नाचोले गोल गरे।
खेलको ३५औं मिनेटमा डी लिग्टको गोलमार्फत युनाइटेडले अग्रता लियो। ब्रुनो फर्नान्डेसको पासलाई उनले पोस्टको दिशा दिए।
४१औं मिनेटमा रासफोर्डले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
ज्याक स्टेफन्सले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि ७९औं मिनेटमा साउथह्याम्पटन १० खेलाडीमा समेटियो।
त्यसपछि इन्जुरी समयमा गार्नाचोले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए।
जितसँगै चार खेलमा ६ अंक जोडेको युनाइटेड सातौं स्थानमा उक्लिएको छ। चारै खेलमा पराजय ब्यहोरेको साउथह्याम्पटन विना अंक १९औं स्थानमा छ।