संकटाको सहज जित, सुदूरको सातौँ हार


काठमाडौं । संकटा फुटबल क्लबले एन्फा महिला लिगमा सहज जित हासिल गरेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा संकटाले सुदूरपश्चिम प्रदेशमाथि ६–० को फराकिलो जित निकालेको छ। यो सुदूरको लगातार सातौँ हार हो।

संकटाको जितमा टिमीलोपे जेनिफरले चार, ममता पुन र पूर्णिमा हमालले समान एक एक गोल गरिन्।

जितसँगै सात खेलमा आठ अंक जोडेको संकटा छैटौं स्थानमा उक्लिएको छ। सातै खेलमा पराजित सुदूरपश्चिम विना अंक पुछारमा छ।

खेलको दोस्रो मिनेटमै जेनिफरको गोलमार्फत संकटाले अग्रता लिएको थियो। त्यसको १० मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाइन्।

जेनिफरले ५२औं मिनेटमा ह्याट्रिक पूरा गरिन्। ८३औं मिनेटमा ममताले गोल गर्दा संकटा ४–० ले अगाडि बढ्यो।

चार मिनेटपछि पूर्णिमाले टोलीका लागि पाँचौं गोल गरिन्। इन्जुरी समयमा जेनिफरले पेनाल्टीमार्फत व्यक्तिगत चौथो गोल गर्दै संकटालाई ६–० को सहज जित दिलाइन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको