लगातार दोस्रो जितसँगै एनआरटी क्वार्टरफाइनलमा

काठमाडाैं। लगातार दोस्रो जित हासिल गर्दै न्युरोड टिम (एनआरटी) भेट्रान्सले मध्यपुरमा जारी तेस्रो भेट्रान्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

समूह ‘बी’मा प्रतियोगिताको पहिलो दिन मंगलबार थासाङ एफसीमाथि ९–० को जित हासिल गरेको एनआरटीले बुधबार रिभरफिल्ड फुटसलमाथि ६–० को रवाफ जमायो।

पूर्व राष्ट्रिय खेलाडीहरुले भरिभराउ त्रिपुरेश्वरको टोलीलाई लगातार दोस्रो जित दिलाउने क्रममा बुधबार गणेश लावतीले ह्याट्रिक गरे। अर्का पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपानेले एक गोलमा नाम लेखाउँदा उत्सव केसीले एक गोल गरे। एनआरटीले रिभरफिल्डका अनुज शाक्यबाट एउटा आत्मघाती गोलको उपहार पाएको थियो।

देशका विभिन्न स्थानका २४ टोलीको सहभागितामा लिगकम नकआउट प्रणालीमा जारी प्रतियोगितामा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहको विजेता अन्तिम आठ प्रवेश गर्नेछ भने बाँकी दुई टिम बाहिरिनेछन्।

त्यही नियमअनुसार समूह ‘बी’बाट एनआरटी अगाडि बढ्दा रिभरफिल्ड र थासाङ पहिलो चरणबाटै घर फर्किने पक्का भएको छ। दुई टोलीले सान्त्वना जितको खोजी गर्दै बिहीबार समूहको आफ्नो अन्तिम खेल खेल्नेछन्।

यसैगरी समूह ‘ए’ मा लगातार दोस्रो खेलमा विजयी नतिजा निकाल्न असफल भएपछि अभिशेक चर्चको यात्रा समाप्त भएको छ। मंगलबार विजय युथसँग गोलरहित बराबरी खेलेको टोली बुधबार जोरपाटी एफसीसँग ४–० को नतिजामा पराजित भएको थियो।

जोरपाटीको जितमा सुरज थापाले २ गोल गर्दा तिर्थ लामा र सुरज सुवेदीले समान १ गोल गरे। दुई खेलबाट १ अंकमात्र जोड्न सकेको अभिशेक प्रतियोगिताबाट बाहिरिँदा जोरपाटीको भने बुधबारको जितसँगै अगाडि बढ्ने सम्भावना बलियो बनेको छ। टोलीले अब बिहीबार समूहको अन्तिम खेलमा विजय युथसँग बराबरी मात्र गरे पनि क्वार्टरफाइनलको ढोका खोल्नेछ।

समूह ‘सी’मा चाबहिल युथ क्लबले पहिलो जित हासिल गर्ने क्रममा बुधबार चितवन भेट्रान्समाथि १–० को नतिजा निकालेको छ। टोलीको जितमा अजर श्रेष्ठले गरेको एकमात्र गोल निर्णायक बन्यो।

लगातार दोस्रो हार भोगेपछि चितवनको अगाडि बढ्ने सम्भावना समाप्त भएको छ भने चाबहिल र समूहको अर्को टोली कैलाली भेट्रान्स समान ३ अंक जोड्दै क्वार्टरफाइनल पुग्ने दौडमा छन्। कैलालीले मंगलबार चितवनलाई २–० को नतिजामा हराएको थियो। क्वार्टरफाइनल पुग्ने निर्णायक भिडन्तमा बिहीबार कैलाली र चितवनबीच प्रतिस्पर्धा हुनेछ।

समूह ‘डी’मा बुधबार विष्णु पादुकासँग गोलरहित बराबरीमा चित्त बुझाएपछि १ अंकमा सीमित भएको कीर्तिपुर भेट्रान्सको पनि क्वार्टरफाइनल पुग्ने सम्भावना कमजोर भएको छ।

अघिल्लो दिन नेपाली सेनाको त्रिभुवन आर्मी क्वबको टिएएफसी भेट्रान्सले कीर्तिपुरमाथि ४–० को जित हासिल गरेको थियो। अब क्वार्टरफाइनल पुग्ने निर्णायक भिडन्तमा बिहीबार टिएएफसी र विष्णु पादुकाबिच प्रतिस्पर्धा हुनेछ।

नागार्जुन नगरपालिकाको मुख्य प्रायोजनमा जारी प्रतियोगितामा मध्यपुर नगरपालिका र ललितपुर नगरपालिकाको पनि सहयोग छ। यसैगरी केसी ग्रुप, कार्की ब्याङ्क्वेट, योयो मम, चिन्डिज सेक्युरिटिज, पोन्ट्स स्पोर्ट्स, सनराइज फर्निचर, स्पार्क होम हेल्थ हस्पिटल, ब्लुक्रस हस्पिटल तथा नेपाल–कोरिया मैत्री नगरपालिकाको सहकार्य रहेको आयोजकले जनाएको छ।

यही कात्तिक २० सम्म चल्ने प्रतियोगिताको विजेता टिमले नगद १२ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइनेछ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको