
काठमाडौं । नेपालले इरानको एन्जल शहरमा हुने सिनियर वल्र्ड कप बिच कबड्डी च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ।
आगामी सेप्टेम्बर २५ देखि ३० तारिखसम्म आयोजना हुने पहिलो संस्करणको वल्र्ड कप बिच कबड्डी च्याम्पियनसिपमा नेपालले चुनौती प्रस्तुत गर्ने भएको हो।
अखिल नेपाल कबड्डी संघले आइतबार एक कार्यक्रम आयोजना गर्दै वल्र्ड कप बिच कबड्डी खेल्न जाने नेपाली पुरुष टोलीको बिदाइ गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमका बीच राखेपका सदस्यसचिव टंकलाल घिसिङ र नेपाल कबड्डी संघका महासचिव अरबिन्दकुमार झालगायतले बिदाई गरेका थिए।
सो अवसरमा सदस्यसचिव घिसिङले कबड्डी खेलले धेरै सम्भावना देखाए पनि राज्यले यस खेलप्रति त्यति चासो देखाउन नसकेको इतिहास रहेको बताए। साथै उनले अली लामो तयारी, मिहिनत र लगानी गरेमा महिला र पुरुष दुवैबाट पदक सम्भावना रहेको औंल्याएका छन्।
यस च्याम्पियनसिपमा नेपालसहित इरान, जर्मनी, डेनमार्क, केन्या, पाकिस्तान, इराक, तुर्किमिनिस्तान, लेबनान र ओमानले खेल्दैछन्। भारतले पनि यसै च्याम्पियनसिपमा खेल्ने तयारी गरेको थियो। तर, अन्तर्राष्ट्रिय कबड्डी फेडेरेसनले भारतीय एमेच्योर कबड्डी फेडेरेसनमाथि प्रतिबन्ध लगाएपछि इरानमा भारतको चुनौती नहुने भएको हो । यसै प्रतियोगिता लागि नेपालले १५ दिन विशेष प्रशिक्षणसमेत गरेको थियो। यसै च्याम्पियनसिपका लागि कल्याण भुजेलको कप्तानीमा ६ सदस्यीय नेपाली टोली घोषणा भैसकेको छ।
विष्णु भट्टको प्रशिक्षणमा रहेको टोलीमा रन्जित गजमेर, पदमबहादुर बिष्ट, गणेश कार्की, रामु टमटा र नीरज चन्द छन्। टिम व्यवस्थापकमा शरद दर्शन धारी र टेक्निकल अफिसरमा रामकेबल मुखिया रहेको अखिल नेपाल कबड्डी संघका महासचिव झाले जानकारी दिए।