काठमाडौं । केएमसी स्कुलको आयोजनामा हुने चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ।
प्रतियोगितामा ३ विधामा विभिन्न २८ विद्यालयका ३६ टिमको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केएमसीका प्रिन्सिपल द्वारारिकानाथ अम्गाईंले जानकारी गराए।
सिनियर ब्वाइजमा १६, सिनियर गल्र्समा ८ र जुनियर ब्वाइजमा १२ टिमले प्रतिस्पर्धा गर्ने छन्।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने केएमसीका इसीए इन्चार्ज प्रवेश शाहीले जानकारी दिए। सिनियर ब्वाइजमा न्यु जेनिथ, सिनियर गल्र्समा एनसीसीएस र जुनियर ब्वाइजमा ज्ञान निकेतन साविक विजेता हुन्। एनसीसीएस बाहेक बाँकी २ साविक विजेता यो संस्करणमा सहभागी छैनन्।
प्रिन्सिपल अम्गाईंले विद्यार्थीमा खेलप्रति आकर्षण बढाउन र उनीहरुमा रहेको प्रतिभा उजागर गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताए।
नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजकै कोर्टमा खेलाइने छ। लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको फाइनल माघ ६ गते हुनेछ। पहिलो दिन ८ खेल हुनेछ।


