काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ।
नेपाल बास्केबल संघले शनिबार पत्रकार सम्मेलन गर्दै बुधबारसम्म हुने प्रतियोगितामा ३२ टिम सहभागी हुने जानकारी गरायो। प्रतियोगितामा नेपालबाट २२ टिम सहभागी हुनेछन्। त्यस्तै, बंगलादेशबाट ४, ३ भारत र १ पाकिस्तानबाट टिम सहभागी हुने बास्केबल संघका महासचिव नरेन्द्र थापाले जानकारी गराएका हुन्। दुई टिमको टुंगो लाग्न बाँकी छ। महासचिव थापाका अनुसार नेपाली टिमले दुई जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउँनेछन्। जसमध्ये १ खेलाडीमात्रै कोर्टमा उत्रने नियम रहेको छ।
पहिलो संस्करण भब्य आयोजना भएपछि दोस्रो संस्करणको आयोजना गरेको संघका अध्यक्ष भीम गुरुङले जानकारी गराए।
प्रतियोगिताको सबै म्यानेजमेन्टको जिम्मेवारी आइडिया पिक्सेसले गरेको छ। पत्रकार सम्मेलनमा आइडिया पिक्सेलको तर्फबाट पवन जोशीको सहभागिता रहेको थियो। थी बाई थ्री का कोर्डिनेटर तथा केन्द्रिय सदस्य शरद बिष्टले प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च १२ देखि १५ लाख लाग्ने बताए।
संघका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै सहयोग नभएको बताएका छन्। ‘हामीले यो सबै खर्च आफ्नो लागत र स्पोन्सरकै सहयोगले गर्दैछौं। राखेपबाट कुनै सहयोग भएको छैन,’ गुरुङले भने, ‘राखेप सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नु भन्नुहुन्छ। तर, हामी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा आधामात्रै खर्च बेहोर्दिनुस् भनेको छौं। तर, उनले दिनुहुन्न।’
संघले प्रतियोगिताको अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रीपूर्ण खेल आयोजना हुने जनाएको छ। ‘हामीले नेपाली भूमी खेलकुदको लागि न्युट्रल भेन्यु हो भन्ने सन्देश दिनको लागि भारत र पाकिस्ताबीच अन्तिम दिन मैत्रीपूर्ण खेल आयोजना गर्दैछौं। यसमा दुबै टोलीको समर्थन रहेको छ।’


