काठमाडौँ । नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुर र नखिपोट युवा क्लबको संयुक्त आयोजनामा पुरुष तथा महिला खुला बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ।
प्रतियोगितामा पुरुषतर्फ १५ र महिलामा ३ टिमले प्रतिस्पर्धा गर्ने मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष एवं क्लबका महासचिव पुनित गुरुङले जानकारी गराए। पुरुषको खेल नकआउट आधारमा हुनेछ। महिलामा सहभागी टिमबीच पहिले राउन्ड रोविन लिग र त्यसपछि शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक विनोद श्रेष्ठले जानकारी दिए।
पुरुषमा पहिलो हुनेले १ लाख र दोश्रोले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलाको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। दुवै समूहको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समान २०–२० हजार तथा उदीयमान खेलाडीलाई समान १०–१० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ।
प्रतियोगिता सञ्चालन गर्न करिब १८ लाख रुपैयाँ खर्च हुने आयोजक लोकतान्त्रिक खेलकुद संघका सचिव श्याम रावतले बताए। पाँचदिने प्रतियोगिताका खेलहरु नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा हुनेछ।


