कनठमाडाैँ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पाकिस्तान फुटबलमाथि लगाएको सबै खाले प्रतिबन्ध फुकुवा गरेको छ।
आफ्नो निर्देशनको अवज्ञा गरेको भन्दै फिफाले गत फेब्रुअरी ६ मा पाकिस्तानी फुटबलमाथि सबै खाले प्रतिबन्ध लगाएको थियो।
फुटबलमा राजनीतिक हस्तक्षेप भएको र आफूहरूले पठाएको विधान संशोधनको मस्यौदामा निर्णय नलिएको भन्दै फिफाले प्रतिबन्ध लगाए पनि समस्यामा परेको पाकिस्तानको फुटबलको समस्या अब समाधान भएको फिफाले विज्ञप्ति जारी गरी जनाएको छ।
विधान संशोधनको पक्षमा पाकिस्तान फुटबल संघका अधिकांश सदस्यले सहमति जनाएपछि फिफाले प्रतिबन्धको फुकुवा गरेको हो।
प्रतिबन्धको कारण एसिया कप छनोट अन्योलमा परेपछि पाकिस्तानले फिफाको निर्देशनलाई तत्कालै कार्यान्वयन गरेको थियो।एसिया कप छनोटमा पाकिस्तानले सिरियाको सामना गर्नेछ।
फिफाले प्रतिबन्ध फुकुवा गरेसँगै पाकिस्तान फुटबल महासंघले विज्ञप्ति जारी गर्दै आगामी दिनमा फिफा र एसियाली फुटबल महासंघले गर्ने सबै प्रकारको सहयोगको निरन्तरताको अपेक्षा समेत गरेको छ।