पुलिसद्वारा मधेश प्रदेश १ सय ९३ रनले पराजित

काठमाडौं । पुलिसले शनिवार मधेश प्रदेशलाई १ सय ९३ रनले हराएको छ । दाङको लमहीमा २ सय ८९ रनको विशाल लक्ष्य पछ्याएको मधेश २६.१ ओभरमा सबै विकेट गुमाएर ९५ रनमा समेटियो ।

मधेशका लागि दिपेश दासले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३१ रन जोडे । रुपेश सिंह ९ बलमा २ छक्काको सहयोगमा १६ रनमा आउट भए । विशाल पटेल १३ रनमा आउट हुँदा मधेशका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका लागि ललितनारायण राजवंशीले ९.१ ओभरमा २८ रन खर्चिएर ४ विकेट लिए । कुशल भुर्तेलले २ तथा करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए ।

त्यसअघि देउखुरी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले ४९.५ ओभरमा २ सय ८८ रन बनाएको थियो ।

पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३६ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६३ रन जोडेका थिए । आरिफ शेखले ५४ बलमा ४ चौका र १ छक्काको सहयोगमा ५५ रन बनाएका थिए ।

दीलिप नाथ ७० बलमा ४५, अर्जुन साउद ७३ बलमा ४७ रनमा आउट भएका थिए । शंकर राना २७ तथा रशिद खान १४ रनमा आउट भएका थिए ।

४३.५ ओभरमा २ सय ५० रन बनाएको पुलिसले सहजै ३ सय रन पार गर्ने अनुमान गरिए पनि पछिल्ला क्रमका ब्याटरले खास रन बनाउन सकेनन् । पुलिसले पछिल्लो ५ ओभरमा ५ विकेट गुमाउँदै मात्र २६ रन जोड्न सक्यो ।

मधेशका लागि अन्तिम ओभरमा २ सहित रुपेश सिंहले ४ विकेट लिए । विशाल पटेलले ३, कमल गुप्ताले २ तथा रञ्जित कुमारले १ विकेट लिए ।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको